वीरगन्जस्थित नारायणी अस्पतालमा निर्माण भएको पोस्ट नेटल केयर (पिएनसी) वार्डको उद्घाटन गरिएको छ।
आइतबार एक कार्यक्रमबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पिएनसी वार्डको उद्घाटन गरेका हुन्। वार्डको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले यसले आसपासका सेवाग्राहीलाई टेवा पुग्ने बताए।
सरकारी अस्पतालको भौतिक विकासमा निजी क्षेत्रको सहयोग बढ्दै जानु सकारात्मक भएको उनको भनाइ थियो। वीरगन्जको कन्साई नेरोलेक पेन्ट जापान प्रालिको करिब ४५ लाख सहयोगमा पिएनसी वार्ड निर्माण गरिएको हो।
कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले वीरगन्जमा केही महिनाभित्रै ट्रमा सेन्टर निर्माणको प्रक्रिया अगाडि बढ्ने बताए। ट्रमा सेन्टर निर्माण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अगुवाइमा यो प्रक्रिया अघि बढेको उनले जानकारी दिए।
अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार वीरगन्ज महानगरपालिका कार्यालयको पहलमा निर्माण भएको पिएनसी वार्डमा नारायणी अस्पतालमा बच्चा जन्माउने गर्भवती र बच्चालाई राखिनेछ। तीन महिनामा वार्ड निर्माण गर्ने लक्ष्य रहे पनि दुई महिनामै पूरा भएको उनले बताए।