१२औँ बाक्सिला गोल्डकपको खेलतालिका सार्वजनिक

आइतबार, २८ माघ, २०८०
डिजिटल संस्करण

खोटाङको सबैभन्दा पुरानाे तथा प्रतिष्ठित फुटबल प्रतियोगिता ‘बाक्सिला गोल्डकप’को खेलतालिका सार्वजनिक गरिएको छ। 

बाक्सिला फुटबल क्लबको आयोजनामा फागुन २ देखि केपिलासगढी गाउँपालिका– ४ बाक्सिलामा सञ्चालन हुने १२औँ संस्करणको प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको हो। 

तालिकाअनुसार फागुन २ गते दिउँसो २ बजे नेर्पा स्पोर्टस् क्लब नेर्पा र बाहुनीडाँडा फुटबल क्लबबीच पहिलो खेल हुनेछ। यस्तै, फागुन ३ गते दिउँसो १ः३० बजे खारम्बु स्पोर्टस् क्लब खार्मी र कटारी फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ।

फागुन ४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस् क्लब र बाक्सिला फुटबल क्लब (ब्लु) तथा सोही दिन दिउँसो ३ बजे भगवती स्पोर्टस् क्लब खोटाङबजार र बाक्सिला फुटबल क्लब (रेड) मैदान उत्रने आयोजकले जनाएको छ।

मोफसलमा फुटबलको व्यावसायिक विकासका लागि विगत १९ वर्षअघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२औँ संस्करण पृथ्वी मावि बाक्सिलाको खेलमैदानमा सञ्चालन हुनेछ।

प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद दुई लाख ५५ हजार दुई सय १२ रुपैयाँको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिए। उपविजेताले नगद एक लाख २८ हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिमले नगद रु. ६०–६० हजार प्राप्त गर्नेछन्।

प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट र हाइस्कोररले नगद रु. सात–सात हजार, बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डरले जनही नगद रु. पाँच हजार एक सय १२ तथा बेस्ट फरवार्ड र बेस्ट गोलकिपरले नगद जनही रु. पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। फागुन ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता केपिलासगढी गाउँपालिकाको प्रमुख समीर राईले उद्घाटन तथा एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईले समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतियोगिता नकआउट विधिबाट सञ्चालन गराइने जनाइएको छ। प्रतियोगिताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई सेवासुविधाबापत नगद रु. ३० हजार र दोस्रो खेलमा पुगेर पराजय व्यहोर्ने टिमलाई प्रतिटिम नगद रु. ६० हजार प्रदान गरिने क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिए।

आयोजकले जिल्लामा व्यावसायिक रूपमा फुटबल खेलिरहेका खेलाडीलाई प्राथमिकतामा राखेर आसन्न गोल्डकपको तयारी गरेको छ। प्रतियोगितामा जिल्ला फुटबल संघमा आबद्ध क्लबलाई पहिलो प्राथमिकतामा राखेर सहभागी गराएको हो। जिल्लाबाहिरका खेलाडी राख्न चाहने टिमले बढीमा चारजना खेलाडी भित्र्याउन पाउनेछन्।

सुझावित समाचार