अंकुरमको वार्षिकोत्सव सम्पन्न

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण

भरतपुरमा रहेको अंकुरम् एकेडेमीले विद्यालयका सबै विद्यार्थीलाई आ–आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिँदै स्थापनाको ३३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । एकेडेमीले विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले दुईदिने वार्षिकोत्सव कार्यक्रम आयोजना गरेको थियो । ‘हाम्रो संस्कृति हाम्रो गौरव’ भन्ने स्लोगनसहित एकेडेमीले पाँच कक्षासम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकको उपस्थितिमा मंगलबार र ६ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकको उपस्थितिमा बुधबार वार्षिकोत्सव मनाएको हो । 

विद्यालयमा भएका सबै विद्यार्थीले स्टेजमा पुगेर केही न केही प्रस्तुति देखाउने मौका पाऊन् भन्ने उद्देश्यले दुईदिने कार्यक्रम गरेको प्रिन्सिपल सुमन पौडेलले बताए । अभिभावकहरूसमेत आफ्ना विद्यार्थीको प्रतिभा देखेर दंग थिए । स्टेजमा विद्यार्थीले नृत्यसहित नाटक, वाककला प्रस्तुति, वाद्यवाधनसहितका विभिन्न प्रस्तुति राखेका थिए । भारतका १५ जना विद्यार्थीसमेत अंकुरम् एकेडेमीको वार्षिकोत्सवमा सहभागी हुन आएका थिए । 

विद्यार्थीको अभिभावकसमेत रहेका डाक्टर भोजराज अधिकारीले व्यावहारिक शिक्षाका लागि एकेडेमी अब्बल रहेको सन्देश वार्षिकोत्सवमा देखिएको बताए । उनले किताबसँगैको अतिरक्ति शिक्षामा विद्यार्थी क्षमताको प्रशंसा गरे ।  पाँच वर्षअघि नयाँ नाम र व्यवस्थापनमा सुरु भएको एकेडेमी अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालित छ ।

भरतपुर महानगरपालिकाको तेह्रसालचोकमा रहेको यो संस्थाले विश्वस्तरीय शिक्षा, अत्याधुनिक कक्षाकोठा, स्विमिङ पुल, एयर कन्डिसनसहित १२ कक्षासम्म पठनपाठन गर्दै आएको छ । विद्यार्थी विद्यालयसम्म ल्याउन र लैजान विद्यालयले जिपिएस प्रविधि जडान भएको एयरकन्डिसनसहितको बस सञ्चालन गरेको छ ।

करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा रहेको विद्यालयमा एक लाख स्क्वायर फिटको सुविधासम्पन्न भवन छ । जहाँ ३९ वटा कक्षाकोठाका साथै अतिरिक्त क्रियाकलापका लागि ६ वटा, विज्ञानसँग सम्बन्धित विषयका लागि तीनवटा, कम्प्युटर ल्याबका लागि दुईवटा कोठा रहेको उनको भनाइ छ । आर्ट, म्युजिकजस्ता अतिरिक्त क्रियाकलापका लागि पनि विद्यालयले छुट्टै व्यवस्था गरेको तथा सबै कोठा वातानुकूलित रहेको एकेडेमीका कार्यकारी निर्देशक नवराज पौडेलले बताए । अंकुरम् एकेडेमीको गुणस्तरीय शिक्षाका कारण जिल्लाबाहिरका विद्यार्थीसमेत यहाँ पढ्न आउने गर्छन् । यो विद्यालय जिल्लाकै  ‘ए’ श्रेणीको विद्यालय हो । 
 

See More On

सुझावित समाचार