रामकृष्ण परमहंस हरेक दिन आफ्नो जलपात्रलाई खरानी या माटोले मस्काएर चम्काउँथे । एक चेलालाई उनको यो हर्कत एकदमै अनौठो लाग्थ्यो । सफा र चम्किलो पात्रलाई आफ्ना गुरुजीले दिनहुँ बढो मिहिनेत गरी जलपात्र चम्काएको देखेर उनलाई बित्थामा किन गुरुले यति दुःख गरेको होला भन्ने लाग्यो । एक दिन साहस गरेर उसले रामकृष्णलाई सोध्यो, ‘गुरु महाराज, तपाईंको लोटा यसै पनि चम्किलो छ ।
तैपनि तपाईं दिनहुँ खरानी वा माटो र मस्कोले यसलाई माझ्न यति धेरै मिहिनेत गर्नुहुन्छ, किन होला ?’ रामकृष्ण परमहंस मुस्कुराए । उनले भने, ‘यो लोटाको चमक एक दिनको मिहिनेतले आएको होइन । यसमा दिनहुँ लाग्ने धुलो या मैलो हटाउन मैले प्रतिदिन मिहिनेत गर्नुपर्छ ।
ठीक यसरी नै जीवनमा लाग्ने मैला, खराब संस्कारलाई हटाउन पनि हामीले प्रतिदिन दृढ संकल्प गर्नुपर्ने हुन्छ । संकल्पलाई असल चरित्रमा बदल्न प्रतिदिन लाग्ने दुर्गुणको मैलो हटाउनुपर्ने हुन्छ । लोटा होस् वा मनुष्यको जीवन, खराबीको मैलोबाट बचाउन हामीले प्रतिदिन कडा मिहिनेत गर्नुपर्छ । तब मात्रै यसको चमक कायम रहन सक्छ ।