प्रतिनिधिसभाको आजको बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुहुनेछ। उक्त विधेयकलाई आजै पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
त्यस्तै, राष्ट्रिय सभामा राष्ट्रिय सभा, नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले ‘राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
त्यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ।
राष्ट्रिय सभाको आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेस गर्नेछिन्।
संसद्का दुवै सभामा संविधानसभा सदस्य एवं पूर्वसामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित हुनेछ।
बुढाथोकी कांग्रेस पार्टीबाट ०६४-०७० को संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नंं. ५ बाट संविधानसभा सदस्यमा निर्वाचित थिए। पूर्वसामान्य प्रशासनमन्त्री बुढाथोकीको ८० वर्षको उमेरमा यही माघ २२ गते उपचारको क्रममा निधन भएको थियो।