शुक्रबारको दिन अमेरिकाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्पस् कुड्स फोर्स र सम्बद्ध मिलिसिया समूहविरुद्ध इराक र सिरियामा ८५ भन्दा बढी ठेगानामा हवाई आक्रमण गरेको बताएको छ । यसले अमेरिका र इरानबीच पहिलेदेखि नै निष्क्रिय रहेको सम्बन्धलाई थप जटिल र खतरनाक अवस्थामा पुर्याएको छ । दुवै देशले एक–अर्कासँग युद्धको कुनै मनसाय नरहेको दाबी गरेका छन् । तर, दुवै पक्ष प्रत्यक्ष द्वन्द्व सम्मुख भइरहेका छन् । यो परिस्थितिका पछाडि कुन शक्ति र तर्क छ भनी अन्वेषण गर्न आवश्यक छ ।
अमेरिकी कारबाहीपछि तीन देश इराक, सिरिया र इरानले अमेरिकी हवाई हमलाप्रति कडा निन्दा गरेका छन् । अमेरिकाको यो कार्य इराक र सिरियाको सार्वभौमसत्ताको स्पष्ट उल्लंघन हो । राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्तविरुद्ध पनि हो । अमेरिकाले ‘इरान समर्थित सैन्य समूह’मा आक्रमण गरेको दाबी गरेको छ, तर यसले इराक र सिरियामा सर्वसाधारणको हताहती भएको छ ।
अमेरिकाले आफ्नो वर्चस्व कायम गर्न देखाएको लापरबाहीलाई रोक्न अन्तर्राष्ट्रिय समुदायले उपाय खोज्नुपर्छ । चीनले सधैँ शान्तिपूर्ण माध्यमबाट विवादको समाधानको पैरवी गर्दै आएको छ र अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीको विरोध पनि गर्दै आएको छ । सबै पक्षले राष्ट्रसंघको बडापत्रका उद्देश्य एवं सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यतालाई प्रभावकारी रूपमा पालना गर्नुपर्छ । इराक र सिरियाको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई प्रभावकारी रूपमा सम्मान र संरक्षण गरिनुपर्छ । चीन अमेरिकाको कारबाहीको विरोध र निन्दा गर्नेमा स्पष्ट छ ।
प्यालेस्टाइन–इजरायल युद्धको मूल कारण संज्ञानमा नलिए ‘आक्रमण र प्रत्याक्रमण’को चक्र दोहोरिरहन्छ । वासिंटनले ‘सम्भावित युद्ध’लाई सम्हाल्न सक्नेछैन ।
यसबाहेक हामी भूराजनीतिक जोखिम र तिनका मूल कारणलाई गहिरो रूपमा खोतल्नका लागि अमेरिका–इरान भूराजनीतिक खेललाई उदाहरणका रूपमा लिन चाहन्छौँ । हालैका दशकमा अमेरिका र इरान एक–अर्कासँग जेलिएका द्वन्द्वमा संलग्न छन्, जसले मध्यपूर्वको अहिलेको अवस्था निम्त्याएको छ । अमेरिका र इरान भूराजनीतिक खेलाडी हुन् । तर, स्थिति सम्भावित प्रत्यक्ष द्वन्द्वतर्फ बढिरहेको छ भन्न हिच्किचाउनु पर्दैन । यदि हामीले द्वन्द्वलाई अघि बढ्न दियौँ भने यो क्षेत्र विनाशतर्फ जानेछ । त्यसवेला अमेरिका र इरान दुवैले परिस्थितिलाई नियन्त्रण गर्न सक्नेछैनन्, न त कुनै पक्षले आफ्नो इच्छाअनुसारको ढाँचा बनाउन सक्छन् । यसबाहेक द्वन्द्वको प्रभावको दायरा अमेरिका र इरानको बीचमा मात्र सीमित हुनेछैन, किनभने मध्यपूर्वमा हुने जुनसुकै द्वन्द्वले बहुआयामिक प्रभाव पार्नेछ ।
अमेरिकी वर्चस्व नै मुख्य मुद्दा हो । अमेरिकाको विश्वव्यापी वर्चस्व र क्षेत्रीय शक्तिबीच संरचनात्मक विरोधाभास विद्यमान छ । आफ्नो वर्चस्व कायम राख्न अमेरिकाले अझै पनि आर्थिक प्रतिबन्ध र सैन्य हमलाको सरल तर क्रूर माध्यम प्रयोग गरिरहेको छ । यी उपाय अहिलेको जटिल र द्रुत रूपमा विकसित अवस्थालाई सम्बोधन गर्न कम प्रभावकारी साबित भइरहेका छन् । प्यालेस्टाइन–इजरायल द्वन्द्वपछि मध्यपूर्वमा हुने हरेक सैन्य कारबाही (शुक्रबारको आक्रमणसहित) पछि अमेरिकाले आफूले ‘बृहत्तर युद्ध’ नखोजेको भन्नेमा जोड दिन्छ । यद्यपि अमेरिका आफ्नै व्यवहारलाई रोक्न र मध्यपूर्व नीति समायोजन गर्नका लागि पहल गर्न इच्छुक देखिँदैन । नतिजा अमेरिकाले जति धेरै द्वन्द्वलाई पछ्याउँदैन भन्छ, त्यति नै अमेरिका द्वन्द्वमा फसिरहेको देखिन्छ ।
अमेरिकी सैन्य बमवर्षक आधारबाट आक्रमणका लागि उडेका दिन बिबिसीले अमेरिका र युरोपमा आठ सयभन्दा बढी सेवारत अधिकारीले एउटा वक्तव्यमा हस्ताक्षर गरेको खुलासा गरेको थियो । गाजा द्वन्द्वलाई लिएर यी अधिकारीको वक्तव्यमा आफ्नै सरकारको नीतिले ‘अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन’ गर्न सक्ने चेतावनी उल्लेख छ ।
यी अधिकारीले सुरुमा आफ्नो व्यावसायिक चिन्ता आन्तरिक रूपमा व्यक्त गरेका थिए, तर यी चिन्ता ‘राजनीति एवं वैचारिकीबाट’ खारेज गरिएका थिए । यो अभूतपूर्व घटनाले पश्चिमा साझेदार मुलुकभित्र नै असहमति छ भन्ने देखाउँछ । यसले पश्चिमा मुलुक विशेषतः अमेरिकाकै मध्यपूर्वको नीति समस्याग्रस्त छ भन्ने देखाउँछ । निःसन्देह मध्यपूर्वमा अमेरिकाको महत्वपूर्ण प्रभाव र सैन्य उपस्थिति छ । अमेरिकाको मध्यपूर्व मामिलामा ‘प्रत्याशित’ प्रवेश होस् वा ‘अपेक्षित’ जवाफी कारबाही होस्, मध्यपूर्वमा अमेरिकी दृष्टिकोण अब प्रभावकारी छैन भन्ने पुष्टि भइसकेको छ ।
प्यालेस्टाइन–इजरायल द्वन्द्वमा प्यालेस्टिनी जनताको आकांक्षालाई उपेक्षा गर्न सकिँदैन र दुई राज्यीय समाधान नै अन्तिम उपाय हो । यसमा नै अहिलेसम्म अन्तर्राष्ट्रिय रूपमा साझा मत प्रकट भएको देख्न सकिन्छ । प्यालेस्टाइन–इजरायल युद्धको मूल कारणको संज्ञान लिइँदैन भने ‘आक्रमण र प्रत्याक्रमण’को चक्र दोहोरिरहन्छ र वासिंटनले ‘सम्भावित युद्ध’लाई सम्हाल्न सक्नेछैन ।
अमेरिकाले इरानमाथि धेरै वर्षदेखि व्यापक प्रतिबन्ध लगाउँदै आएको छ । हाल अमेरिकाले ‘इरान–समर्थित सैन्य बल’ भनेर इरानविरुद्ध प्रत्यक्ष रूपमा सैन्य हवाई आक्रमण गरेको छ । यो आक्रमणले केही हदसम्म अमेरिकी प्रतिबन्धको प्रभावहीनतालाई पनि संकेत गर्छ । बल प्रयोगको दुष्परिणाम स्पष्ट रूपमा प्रतिबन्ध भन्दा हुन्छ र अमेरिकाले यो महसुस पनि गरेको छ । तैपनि, वर्षौंदेखि प्रतिबन्ध र बल प्रयोगमा निर्भरता कम गर्नुको सट्टा अमेरिकाले यसलाई अझ बलियो बनाएको देखिन्छ । अमेरिकाले सामना गरिरहेको रणनीतिक चुनौती महत्वपूर्ण क्षेत्रीय र विश्वव्यापी चिन्ताको रूपमा विकसित भएको छ ।
– ग्लोबल टाइम्सको ४ फेब्रुअरीको सम्पादकीयबाट