माओवादी सांसदलाई अध्यक्ष प्रचण्डको निर्देशन- ‘संसदमा जनताको पक्षमा दर्बिलो रूपमा प्रस्तुत हुनुस्’

मंगलबार, २३ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद्मा जनताका पक्षमा दर्बिलो रूपमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकमा प्रचण्डले सरकारको काम र पार्टीको नीतिबारे संसद्मा दर्बिलो रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । 

‘तपाईंहरू राम्रो तयारीका साथ संसद्मा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,’ प्रचण्डले निर्देशन दिँदै भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अधिकतम कोसिस गरिएको छ । सरकारले राम्रा काम गरेको छ । यी कामका विषयमा सदनमा आफ्ना विषय सशक्त रुपमा राख्नुहोस् ।’

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख पनि गरे । ती विधेयक सहमतिका टुंग्याउँदा सबैको हित हुने उनको भनाइ छ । उनले भने, ‘सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुंग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।’

आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी भइरहेको जानकारी पनि उनले दिए । तीन करोडभन्दा साना योजनाहरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने उनले बताए । संघीय लोकतन्त्रिक गणतन्त्रको रक्षा र सुदृढ गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै उनले भने, ‘यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।’

See More On

सुझावित समाचार