न्युप्लाजामा मेलम्चीको पानी चुहावट भएर हिलाम्य भएको सडक । वनस्थली, भगवानपाउ, लाजिम्पाट, लैनचौर, टेकु भन्सार, रंगशाला रोडलगायत ठाउँमा तीन–चारवटा चुहावट छन् । अन्य ठाउँमा चुहावट भए पनि कम छ । अरू केही ठाउँमा पनि दैनिकजसो ३०–४० वटा नयाँ चुहावट देखिएको छ । ती ठाउँमा दैनिक मर्मत गर्दै अगाडि बढ्ने काम भइरहेको छ । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
उपत्यकामा पछिल्लोपटक मेलम्चीको पानी वितरण हुन थालेको २२ दिन भयो । योसँगै खानेपानी अभाव झेलिरहेका उपत्यकावासीमा केही राहत मिलेको छ । तर, पानी वितरण सुरु भएसँगै विभिन्न ठाउँमा चुहावट भएर सडक हिलाम्मे भइरहेका छन् ।
१३० ठाउँमा चुहावटको समस्या देखिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल)का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार पूर्ण क्षमता (फुलफेज)मा पानी वितरण भएसँगै चुहावटमा वृद्धि भएको हो । ‘विशेष गरी पुरानै वितरण सञ्जालका पाइबाट धेरै चुहावट देखिएको छ,’ कार्कीले भने, ‘चुहावट देखिएका ठाउँमा मर्मत गर्दै पानी वितरण गरिरहेका छौँ । तैपनि, पुरानो पाइपमा खिया लागिसकेका कारण पटक–पटक समस्या देखिइरहेको छ ।’
पाँच सयभन्दा धेरै ठाउँमा देखिएको चुहावट व्यवस्थापन गर्दै केयुकेयलले हाल एक सय ३० मा झारेको जनाएको छ । अहिले मेलम्चीको १७ करोड लिटरमध्ये साढे दुई करोड लिटर पानी नयाँ वितरण सञ्जालमा परीक्षणका लागि प्रयोग भइरहेको छ भने बाँकी उपभोक्तालाई वितरण भइरहेको छ ।
हाल उपत्यकाका साढे दुई लाख धारामा मेलम्चीको पानी पुगिसकेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार एक हजार १० किलोमिटरमध्ये हाल पाँच सय किलोमिटर नयाँ वितरण लाइनको मात्र परीक्षण भएको छ । बाँकी वितरण लाइनमा मेलम्चीको पानी आएसँगै परीक्षण भइरहेको छ ।
चुहावट व्यवस्थापन गर्न सडक विभाग बाधक
विगतको कार्यतालिकामा परिवर्तन गरेर केयुकेएलले हाल कीर्तिपुरको पानी ट्यांकीबाट एक दिन बिराएर, दुई दिनमा एक पटक र अरु केही ठाउँमा तीन दिनमा एकपटक पानी वितरण गर्न थालेको छ । मेलम्ची उपत्यकामा नआउँदा सातदेखि १० दिनमा पानी वितरण हुने गर्थ्यो । वितरणको कार्यतालिकामा परिवर्तन र पहिलेको तुलानामा पानीको मात्रा पनि वृद्धि भएपछि पानीको चुहावट बढ्यो ।
पुरानै वितरण सञ्जालका पाइपबाट धेरै चुहावट देखिएको छ : ज्ञानेन्द्रबहादुर कार्की प्रमुख कार्यकारी अधिकृत, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)
पूर्ण क्षमता (फुलफेज)मा पानी वितरण भएसँगै चुहावटमा वृद्धि भएको हो । विशेषगरी पुरानै वितरण सञ्जालका पाइपबाट धेरै नै चुहावट देखिएको छ । चुहावट देखिएका ठाउँमा मर्मत गर्दै पानी वितरण गरिरहेका छौँ । तैपनि, पुरानो पाइपमा खिया लागिसकेका कारण पटक–पटक समस्या देखिन्छ नै ।
तर, चुहावट मर्मतका लागि भने कठिन अवस्था सिर्जना भएको छ । सडक विभागले चुहावट भएको ठाउँमा मर्मत गर्न सजिलै अनुमति नदिएका कारण चुहावट मर्मत गर्न कठिन भइरहेको प्रमुख कार्यकारी अधिकृत कार्कीले आरोप लगाए । ‘सुरुवाती दिनमा भन्दा चुहावटको समस्या समाधान त हुँदै छ, तर समस्या पूरै समाधान गर्न सडक नै खन्नुपर्ने हुन्छ । सडक खनेर मर्मत गर्न विभागबाट सजिलै अनुमति पाइँदैन । त्यसैले चाहेर पनि चुहावट घटाउन सकिरहेका छैनौँ,’ उनले भने ।
अहिले दैनिक ३० देखि ४० ठाउँमा चुहावट देखिरहेको छ । समस्यामा कमी भइरहे पनि पूरै समाधान गर्न सबै स्थानमा नयाँ वितरण सञ्जालबाट पानी वितरण हुनुपर्ने उनले बताए । केयुकेएलले हाल भक्तपुर शाखाको कटुन्जे ट्यांकीबाट भक्तपुर क्षेत्रमा, ललितपुर शाखाअन्तर्गत खुमलटार, त्रिपुरेश्वर शाखाअन्तर्गत सुन्दरीघाट पानी प्रशोधन केन्द्र र कीर्तिपुर रिजर्ब वायरबाट पानी वितरण भइरहेको छ ।
सोही शाखाको महांकालचौर र अनामनगर पानी ट्यांकीबाट पनि पानी वितरण भइरहेको छ । महाराजगञ्ज शाखाअन्तर्गत बाँसबारी पुरानो पानी पोखरी र नयाँ पानी पोखरीबाट, बालाजु पानी पोखरीबाट पनि पानी वितरण भइरहेको छ । त्यसैगरी, क्षेत्रपाटी शाखाबाट पानी वितरण भइरहेको छ ।
बानेश्वर शाखाअन्तर्गत मीनभवन पानी ट्यांकी, मध्यपुर ठिमी शाखाअन्तर्गत ठिमि पानी ट्यांकी, महाँकालचौर पानी टंयाकी, कीर्तिपुर शाखाअन्तर्गत ट्यांलाफाँट पानी ट्यांकीबाट पानी वितरण भइरहेको छ ।
उपत्यकामा खानेपानीको दैनिक माग करिब ४३ करोड लिटर छ । मेलम्चीको पानी १७ करोड लिटर र केयुकेएलले विभिन्न स्रोतबाट संकलन गरेको करिब १३ करोड लिटर पानीसमेत गरेर करिब ३० करोड लिटर पानी वितरण भइरहेको छ ।
यी समयमा हुन्छ पानी वितरण
कीर्तिपुर शाखाअन्तर्गत ट्यांलाफाँट पानीट्यांकीबाट एक दिन बिराएर पानी वितरण भइरहेको छ । सूर्य काठ गोदामपछाडि बिहान ६ देखि ७, स्विमिङ पुल लाइनमा ७ देखि ८ र एनआइसी बैंकअगाडि बिहान ८ देखि ९ बजेसम्म पानी वितरण भइरहेको छ ।
भक्तपुर शाखाको कटुन्जे ट्यांकीबाट भक्तपुर क्षेत्रमा दुई दिन बिराएर पानी वितरण भइरहेको छ । यो क्षेत्रअन्तर्गत ३, ६, ९, १२, १५, १८, २१, २४, २७ गते सूर्यविनायक गणेश मन्दिर, सुन्दर बस्ती, सूर्यविनायकका सबै, चुनदेवी विनायक बस्ती, बाराही चोक, पाण्डु बजारहाइट, घलाते, माताघर, भक्तपुर नगरक्षेत्र, बाराही मन्दिर, गपली, भुलान्चा, सल्लाघारी क्षेत्र र अरनिको हाइवे क्षेत्रमा बिहान ६ देखि ९ बजेसम्म पानी वितरण तालिका छ । यसै दिन वंशगोपाल, भर्वाचो, मंगलाछेँ, नासमना, ताहामला, लाकुलाछेँ, साकोठालगायत क्षेत्रमा साँझ ५ देखि राति ८ बजेसम्म पानी वितरण तालिका बनाएर केयुकेएलले पानी वितरण गरिरहेको छ ।
हरेक महिनाको ४, ७, १०, १३, १६, १९, २२, २५, २८ गते इटाछेँ, डोगन, मलाचा, खला, क्वाछे, खौमा, डोक्चे, खेल मैदान क्षेत्रमा बिहान ६ देखि ९ बजेसम्म र व्यासी मिवाछे, शिक्षा कार्यालय क्षेत्र, औद्योगिक क्षेत्र, वडा २ कार्यालय क्षेत्रमा साँझ ५ देखि राति ८ बजेसम्म वितरण हुने तालिकाअनुसार पानी वितरण भइरहेको छ । यसैगरी, ५, ८, ११, १४, १७, २०, २३, २६, २९ गते सूर्यमडी, ब्रह्मायणी, धारा एरिया, जेला, महेश्वरी, खचा, पन्ग्राचा गल्ली क्षेत्रमा बिहान ९ देखि ९ बजेसम्म र मयुर झ्याल, नारायण मन्दिर एरिया, वाचु टोल, खचा, मुनि विहार, इनको एरिया गुर्जु क्षेत्रमा साँझ ५ देखि राति ९ बजेसम्म पानी वितरणको तालिका छ ।
त्रिपुरेश्वर शाखाअन्तर्गत महांकाल चौर, अनामनगर पानीट्यांकीबाट कुरिया गाउँ, बबरमहल, प्रसूतिमार्ग, सिडिओ कार्यालय, नर्भिक अस्पताल क्षेत्र, डाँफे मार्गमा दिउँसो १ देखि साढे ३ बजेसम्म पानी वितरण हुने कार्यतालिका छ । यी क्षेत्रमा तीन दिनमा एकपटक पानी वितरण हुन्छ । न्युरोड, वसन्तपुर, मरु, जैसीदेवल, यांगाल, कोहिटी, टेबहाल, ब्रह्मटोलमा ३, ६, ९, १२, १८, २१, २४ र २७ गते दिउँसो साढे ४ देखि साढे ५ सम्म र सोही क्षेत्रमा ३, ४, ६, ७, ९, १०, १२, १३, १५, १६, १८, १९, २१, २२, २४, २५, २८ र २८ गते राति १० देखि ११ बजेसम्म पानी वितरण हुने तालिका छ ।
यसैगरी, त्रिपुरेश्वर क्षेत्र, ब्लु क्रस अस्पताल, विश्वनिकेतन स्कुल क्षेत्रमा तीन दिनमा एकपटक साँझ साढे ४ देखि राति ७ बजेसम्म, भोटेबहाल क्षेत्रमा बिहान ७ देखि १ बजेसम्म पानी वितरण हुने तालिका छ ।
ललितपुर शाखाअन्तर्गत खुमलटार पानीट्यांकीबाट तीन दिनमा एकपटक हःखा गल्ली, हःखा बाहिर मेन रोड, सौगल मेन रोड क्षेत्रमा बिहान ५ देखि ११ बजेसम्म, सुन्धारा, चपट, चालाछेँ, चंकी, धालाछेँं, दुपाट क्षेत्रमा दिउँसो ४ देखि राति १० बजेसम्म, ग्वार्को, लगनखेल, दीपावलीमार्ग, लुकुसी, बटुकभैरव क्षेत्रमा बिहान ५ देखि ११, चापागाउँ दोबाटो, टुटेपानी क्षेत्रमा दिउँसो ४ देखि राति १० बजेसम्म पानी वितरण हुँदै आएको छ । यो क्षेत्रमा ३ माघदेखि पानी वितरण भइरहेको छ ।
महाराजगन्ज शाखाअन्तर्गत बाँसबारी पुरानो पानीपोखरीबाट पनि तीन दिनमा एकपटक पानी वितरण भइरहेको छ । रक्तकाली, नरदेवीमा किलागलमा बिहान ३ देखि ५, कालधारा, धोबीचौर, कुश्लेचौर, पुरानो रानीबारीमा बिहान ८ देखि ११ बजेसम्म पानी वितरण भइरहेको छ । यस क्षेत्रमा पनि ३ माघदेखि नै पानी वितरण सुरु भएको हो ।
पूर्ण क्षमता (फुलफेज)मा पानी वितरण भएसँगै चुहावटमा वृद्धि भएको हो । विशेषगरी पुरानै वितरण सञ्जालका पाइपबाट धेरै नै चुहावट देखिएको छ । चुहावट देखिएका ठाउँमा मर्मत गर्दै पानी वितरण गरिरहेका छौँ । तैपनि, पुरानो पाइपमा खिया लागिसकेका कारण पटक–पटक समस्या देखिन्छ नै ।