नेप्सेमा पाँच अंकको गिरावट, कारोबार रकम पनि घट्दो

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्सेमा गिरावट आएको छ। नेप्से ५.३१  अंकले घटेर दुई हजार ६१.७० विन्दुमा कायम भएको छ। यसअघिका दुई कारोबार दिनमा पनि नेप्से दोहोरो अंकले घटेको थियो।

आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक अंकभन्दा थोरैले घटेका छन्। कारोबारमा आएकामध्ये एक सय चार कम्पनीको मूल्य बढेको छ भने एक सय ३२ कम्पनीको मूल्यमा गिरावट आएको छ।

यसैगरी, कुल ९२ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब २१ करोड रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्ला दुई कारोबार दिनमा क्रमशः पाँच अर्ब र चार अर्बभन्दा बढीको सेयर कारोबार भएकोमा आज तीन अर्बमा झरेको हो।

नेप्सेका १३ समूहमध्ये आज विकास बैंक, वित्त, लगानी र निर्जीवन बिमा समूह क्रमशः ०.६६, ०.४०, ०.०९ र ०.५१ प्रतिशतले बढेका छन्। बाँकी सबै समूहको सूचक घटेका छन्। सबैभन्दा धेरै ‘अन्य’ समूहको सूचकमा १.०४ प्रतिशतले गिरावट आएको छ।

घटेको बजारमा आइतबार युनिक नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै आर्जन गरेका छन्। यस कम्पनीको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। यसैगरी, मोलुङ हाइड्रपोपावर, समाज लघुवित्त र भगवती हाइड्रोपावर कम्पनीको मूल्य क्रमशः ९.४६, ८.२० र ६.७८ प्रतिशतले बढेका छन्।

यता सर्वाधिक गुमाउने महिला लघुवित्त र रावा इनर्जीको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटेको छ।

सुझावित समाचार