अन्नपूर्ण पदमार्गमा इतिहासकै बढी एक सय ७३ देशका दुई लाख पर्यटक

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

विश्वकै उत्कृष्ट पदयात्रा मार्गका रूपमा परिचित अन्नपूर्ण पदमार्गमा सन् २०२३ मा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । सो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखराका प्रमुख डा. रविन कँडरियाले जानकारी दिए । उनले भने, ‘यो संख्या हालसम्मकै धेरै हो । सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ जनाले पदमार्गको भ्रमण गरेका थिए ।’ 

पदमार्गमा सार्क राष्ट्रबाट ९७ हजार पाँच सय ५४ र अन्य देशका ९४ हजार चारजना पर्यटकले भ्रमण गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी भारतबाट ९६ हजार आएका छन् । यसैगरी फ्रान्सका आठ हजार पाँच सय २६, जर्मननीका सात हजार ६ सय ४१, अमेरिकाका सात हजार दुई सय ४९, बेलायतका सात हजार एक सय ७४ र चीनका ६ हजार तीन सय २३ पर्यटकले अन्नपूर्ण क्षेत्र भ्रमण गरेको तथ्यांक छ । कोरोनाका कारण सन् २०२० देखि सुस्ताएको पदमार्गले गत वर्षदेखि पुरानै लय लिँदै हालसम्मकै धेरै पर्यटक भिœयाएको हो ।

विकासका नाममा विनाश हुँदै पदमार्ग  
एक दशकअघि अन्नपूर्ण राउन्ड पदमार्ग पूरा गर्न २०–२१ दिन लाग्थ्यो । तर, अहिले हप्ताको समयमा पूरा हुने नेपाल ट्रेकिङ एसोसिएसन (टान) गण्डकीका सचिव तीर्थराज सुवेदीले बताए । विकासका नाममा जताततै सडक खनिएका कारण पदमार्ग गर्ने समय घटेको र यसले पर्यटकको बसाइँसमेत छोट्टिएको उनको भनाइ छ । स्थानीय सरकार र सरोकारवाला निकायले त्यस क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासमा ध्यान नदिएको सुवेदी बताउँछन् । उनले भने, ‘पदयात्रा गर्नेको संख्या बढाउने हो भने हाल भइरहेको पदयात्रा मार्गको संरक्षण र नयाँ स्थानको खोजी गरी आवश्यक पूर्वाधार निर्माण गरी व्यवस्थित गर्न आवश्यक छ ।’  

चक्रिय अन्नपूर्ण पदयात्रामा जाने अधिकांश पर्यटक अन्नपूर्ण आधार शिविरसम्म पुग्ने गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने अन्नपूर्ण आधार शिविरसम्म जाने पदमार्गलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर गाउँपालिकाले आवश्यक काम सुरु गरेको गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ बताउँछन् । पालिकाले पदमार्गका विभिन्न स्थानमा आवश्यक पूर्वाधारहरूको निर्माण र भएकाहरूको संरक्षणको काम, अप्ठ्यारो भएका स्थानमा सिँढी बनाउने, झोलुंगे पुल निर्माणसँगै वडा र स्थानीय पर्यटन व्यवसायीको मागका आधारमा आवश्यक बजेट निकासा गरेर काम गरिरहेको उनको भनाइ छ । साथै, बिरेठाँटीमा पर्यटन सूचना केन्द्र सञ्चालनको अन्तिम तयारीमा रहेको उनले बताए । एकपटक आएका पर्यटकलाई पुनः आउने वातावरण कसरी बनाउने भन्ने काममा आफूहरू लागेको उनको भनाइ छ । 

पर्यटक बढे पनि पदयात्रा गर्ने घटे 
अन्नपूर्ण क्षेत्रमा भ्रमण गर्ने पर्यटकको संख्या बढे पनि पदयात्रा गर्नेहरू भने घटेको अन्नपूर्ण संरक्षण केन्द्रका प्रमुख डा. रविन कँडरियाले बताए । सार्क देशका पर्यटकको संख्या बढ्नु र त्यसमा पनि ९५ प्रतिशतभन्दा बढी भारतीय हुनु भनेको पदयात्रा गर्नेको संख्या घट्नु रहेको उनको भनाइ छ । यस क्षेत्रमा मुक्तिनाथ मन्दिरसमेत पर्ने भएकाले अधिकांश भारतीयहरू मन्दिर दर्शन गरेर फर्कने उनले जानकारी दिए । सार्कबाहेक अन्य देशका पर्यटक घट्दो क्रममा रहेका छन् । पदयात्रा मार्गमा सडक निर्माणका कारण धुलोमैलोसँगै बाढीपहिरोले अन्य देशका पर्यटकको संख्या घट्दै गएको उनको अनुमान छ । सन् २०१९ देखि पदमार्गमा आउने अन्य देशका पर्यटकको संख्या घट्दो छ । २०१९ मा एक लाख ३३ हजारमा रहेको संख्या २०२३ मा आइपुग्दा ९४ हजारमा सीमित छ । सन् २०१९ मा सार्क राष्ट्रका पर्यटकको संख्या ४६ हजार रहेकोमा २०२३ मा त्यो संख्या ९७ हजार पुगेको छ । चार वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिर भ्रमण गरेसँगै भारतीयको संख्यामा प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ ।

प्रवेश शुल्कबापत ३७ करोड ९५ लाख ६६ हजार राजस्व संकलन
पदमार्गबाट वार्षिक करोडौँ राजस्व संकलन भएसँगै  हजारौँले रोजगारी पाएका छन् । तर, यसको संरक्षण र विकासमा ध्यान नपुगेको स्थानीय पर्यटन व्यवसायीहरूको गुनासो छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकका अध्यक्ष ललित गुरुङ भन्छन्, ‘सरकारले यस क्षेत्रलाई महत्वमा राखी जसरी प्राथमिकताका साथ यसको प्रचारप्रसारसगै विकास र सरक्षणको काम गर्नुपर्ने हो, त्यो भएको छैन ।’ रोजगारीका लागि दैनिक हजारौँ बिदेसिएको समयमा यस्तै अन्य पदमार्गमा आवश्यक विकास गर्न सके धेरैले स्वदेशमै रोजगारी पाउने उनको भनाइ छ ।  

पदमार्गमा जाने पर्यटकबाट प्रवेश शुल्कबापत सन् २०२३ मा ३७ करोड ९५ लाख ६६ हजार राजस्व संकलन गरिएको छ । एक्यापले त्यस क्षेत्रमा जाने सार्क देशका पर्यटकबाट एक हजार र अन्य देशका पर्यटकबाट तीन हजार प्रवेश शुल्क लिने गरेको छ । उठेको शुल्क आवश्यक स्थानमा पुल बनाउने, बाटो मर्मत गर्ने, आवश्यक पूर्वाधार थप्नेलगायतका काममा एक्यापले खर्च नगरेको भन्दै स्थानीयसँगै सम्बन्धित पालिकाहरूले विरोध गर्दै आइरहेका छन् ।

सुझावित समाचार