अन्तिम खेलमा नेपाल निरीह, भारत १३२ रनले विजयी

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

अन्तिम खेलमा भारतसँग एक सय ३२ रनले पराजित हुँदै नेपालले आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ । अन्तिम खेलमा सान्त्वना जितको खोजी साथ मैदानमा उत्रिएको नेपाल बलिङ र ब्याटिङ दुवैमा भारतसामु निरीह देखियो ।

भारतले दिएको दुई सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले नौ विकेट गुमाएर एक सय ६५ रन बनायो । एक समय ४० बल खेल्दा ६ विकेट गुमाएको नेपालले ७७ रनभित्र सात विकेट गुमाइसकेको थियो । तर, कप्तान देव खनालले एक इन्डबाट केहीबेर संघर्ष गरेपछि ३९औँ ओभरमा नौ विकेट गुमाएर नेपाल एक सय २० रनसम्म पुगेको थियो । 

नौ विकेट गुमाइसकेको अवस्थामा अन्तिम जोडीका रूपमा क्रिजमा रहेका आकाश चन्द र दुर्गेश गुप्ताले अविजित ४५ रनको साझेदारी गरेपछि नेपालले पूरै पचास ओभर खेल्न सम्भव भएको हो ।  

दुर्गेशले ४३ बलमा २९ तथा आकाशले ३५ बलमा १८ रन बनाए । नेपाली इनिङमा सबैभन्दा बढी रन कप्तान देवको रह्यो । उनले ५३ बलमा ३३ रन बनाए । अर्जुन कुमालले ६४ बलमा २६, दीपक बोहराले ४२ बमा २२ रन बनाए । उत्तम मगर आठ, सुवास भण्डारी पाँच, विमलविक्रम केसी र गुल्सन झा एक–एक रन तथा दीपेश कँडेल र दीपक डुम्रे शून्य रनमा आउट भए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ९७ रन बनाएको थियो । विशाल लक्ष्य खडा गर्ने क्रममा भारतका लागि सचिन दासले सर्वाधिक एक सय १६ रनको योगदान दिए । उनले एक सय एक बलमा ११ चौका र तीन छक्का प्रहार गरे ।  

कप्तान उदय सहरानले एक सय सात बलमा नौ चौकाको सहायताले सय रन बनाए । त्यसैगरी आदर्श सिंहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ तथा अर्सिन कुलकर्नीले १८ रन बनाए । मुसहिर खानले अविजित नौ रन बनाए । नेपालका लागि गुल्सन झाले तीन विकेट लिए भने आकाश चन्दले एक विकेट झारे ।

सुझावित समाचार