नवौँ संस्करणको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी (एक्स्पो) सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फियर एन्ड इभेन्ट्सले संयुक्त रूपमा आयोजना गरेको मेलाको बिहीबार अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका छन् । मेलालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले निर्माण सम्बन्धमा विस्तृत जानकारी लिन मेला निकै उपयोगी हुने बताए ।
निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा प्रविधिको प्रदर्शनी गरिने मेला आइतबारसम्म सञ्चालन हुनेछ । नवौँ संस्करणको बिल्डकन एक्स्पोमा विभिन्न देशका तीन सयभन्दा बढी ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहेका छन् । एक्स्पोमा निर्माणसम्बन्धी उद्योगहरू, कम्पनीहरू, डिलर तथा सब डिलरहरू र विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन र प्रविधिका बारेमा जानकारी गराउनुका साथै बिक्री–वितरणसमेत भइरहेको छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, प्रि–फ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसी प्रोफाइल, झ्याल तथा ढोका, आर्किटेक्चरल हार्डवेयर, बाथरुम फिटिङ, पाइप्स, टायल, जस्तापाता, कंक्रिट ब्लक उत्पादन गर्ने मेसिन, आल्मुनियम प्यानेललगायत सामग्री, उपकरण तथा मेसिनरी राखिएका छन् । निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउन र नयाँ–नयाँ प्रविधिबारे जानकारी गराउन यो प्रदर्शनी कोसेढुंगा सावित हँुदै आइरहेको आयोजकको दाबी छ ।
एक्स्पोमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टरस, बिल्डरस, इन्टेरियर डिजाइनर, घर बनाउन चाहने व्यक्ति तथा आमनागरिकको सहभागिता भइरहेको छ । एक्स्पोको टाइटल स्पोन्सर कजरिया टायल्स र सहप्रायोजकमा भोल्गा तथा जिन्दल स्टिल रहेका छन् । सहयोगी संस्थाहरूमा आर्किटेक्ट्सका संघ र इन्टेरियर डिजाइनरका संघ रहेका छन् । चार दिनसम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।