चार वर्षदेखि संघीय संसद्मा विचाराधीन अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ । १५ वैशाखमा प्रतिनिधिसभाले पठाएको विधेयकमा समितिले संशोधनकर्ता, सरोकारवालासहित दफावार गरेर बिहीबार परिमार्जनसहित टुंग्याएको हो । समिति सभापति रामहरि खतिवडाले विधेयकमा परिमार्जनसहित सर्वसम्मत विधेयक पारित भएको जानकारी दिए । परिमार्जनसहितको समितिको प्रतिवेदनलाई अन्तिम रूप दिएर २२ माघबाट सुरु हुने संसद्को अधिवेशनमा पेस गरिने उनको भनाइ छ ।
विकास नीति तथा योजनाको अनुगमन तथा मूल्यांकनलाई तथ्यपरक, विश्वसनीय, गुणस्तरीय, व्यवस्थित, नतिजामुखी र प्रभावकारी बनाउन सरकारले २८ फागुन ०७६ मा विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो । विकास नीति तथा योजनाको कार्यान्वयनमा उत्तरदायित्व र जवाफदेहिता प्रवद्र्धन गरी लागत प्रभावकारिता अभिवृद्धि गर्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ल्याएको विधेयक २३ माघ ०७९ मा राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभा आएको थियो । एक वर्षपछि प्रतिनिधिसभाको विषयगत समितिले विधेयक टुंग्याएको हो ।
परिमार्जनसहित समितिबाट पारित भएको विधेयकमा आयोजनाको अनुगमन र मूल्यांकन प्रत्येक ६ महिनामा गर्नुपर्ने व्यवस्था गरिएको छ । विधेयकमा तीनै तहका सरकारबाट सञ्चालित योजनाको नियमित अनुगमन तथा मूल्यांकनसम्बन्धी व्यवस्था पनि गरिएको छ । तीनै तहको अनुगमन तथा मूल्यांकनको सर्वाेच्च निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगलाई मानिएको छ ।
के–के अनुगमन हुन्छ ?
विधेयकमा व्यवस्था भएअनुसार योजना आयोगले नेपाल सरकारका आवधिक योजना, गुरुयोजना, वार्षिक योजना, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना, रूपान्तरणकारी आयोजना, नेपाल सरकारले तोकेका महŒवपूर्ण आयोजना, वैदेशिक सहायतामा सञ्चालित आयोजना र अन्तरसरकारी वित्त हस्तान्तरणसम्बन्धी प्रचलित कानुनबमोजिम प्रदेश र स्थानीय तहलाई उपलब्ध गराइएको अनुदानबाट सञ्चालित आयोजनाको अनुगमन र मूल्यांकन गर्नेछ ।
प्रदेशस्तरमा कार्यान्वयन हुने योजना तथा प्रदेशले स्थानीय तहलाई उपलब्ध गराएको अनुदानबाट सञ्चालित कार्यक्रम तथा आयोजनाको नियमित अनुगमन तथा मूल्यांकन प्रदेश सरकारले गर्नुपर्ने र यसका लागि जिम्मेवार निकाय वा पदाधिकारी तोक्नुपर्ने र उनीहरूको आवश्यक निगरानी गर्नुपर्ने भनिएको छ । प्रदेशको अनुगमन तथा मूल्यांकनको प्रतिवेदन राष्ट्रिय योजना आयोगले माग गरेमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।
स्थानीयस्तरमा कार्यान्वयन हुने योजनाको नियमित अनुगमन तथा मूल्यांकन गाउँपालिका र नगरपालिकाले गर्नुपर्ने, उनीहरूले जिम्मेवार निकाय वा पदाधिकारी तोक्नुपर्ने, साथै सम्बन्धित गाउँ कार्यपालिका वा नगर कार्यपालिकाले आवश्यक निगरानी गर्नुपर्ने व्यवस्था विधेयकमा छ । स्थानीयस्तरको प्रतिवेदन योजना आयोगले माग गरेमा उपलब्ध गराउनुपर्ने पनि भनिएको छ ।
विधेयकमा जिल्ला सभाले सम्बन्धित जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाले सञ्चालन गर्ने योजनाको सम्बन्धमा आवश्यक समन्वय, रेखदेख र सहजीकरण गर्नुपर्ने पनि भनिएको छ । जिल्ला सभाले सम्बन्धित जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाको विकास तथा निर्माणसम्बन्धी कार्यमा सन्तुलन कायम गर्न गाउँपालिका वा नगरपालिकाबाट कार्यान्वयन हुने आयोजना कार्यान्वयनको अनुगमन गर्नुपर्ने पनि भनिएको छ ।
राजनीतिक दलसम्बन्धी संशोधन विधेयक संसद्मा दर्ता
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । अध्यादेश ल्याउँदा निष्क्रिय भएको दल विभाजनसम्बन्धी साबिककै व्यवस्था जगाउन गृह मन्त्रालयले बिहीबार संशोधन विधेयक दर्ता गरेको संसद् सचिवालयले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी प्रावधान खुकुलो बनाउन अध्यादेश ल्याएका थिए । देउवाले केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा २० प्रतिशत सदस्यको समर्थन भए पार्टी फुट्ने अध्यादेश ल्याउँदा एमाले र जसपा विभाजन भएको थियो । गृह मन्त्रालयले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्यको समर्थन चाहिने साबिककै व्यवस्था गरेर संशोधन विधेयक ल्याएको हो । २२ माघमा आह्वान गरिएको अधिवेशनमा विधेयक प्रक्रियामा जाने संसद् सचिवालयले जनाएको छ ।