आयोजनामै नभएको मोटरबाटोबारे भ्रामक समाचार लेखिएको भन्दै गाउँपालिकाको आपत्ति

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

नुवाकोटको ककनी गाउँपालिकाले पालिकाका विषयमा भ्रामक समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएको छ । पालिकाका अध्यक्ष सुमन तामाङ सज्जन र निमित्त प्रशासकीय अधिकृत ऋषि अधिकारीले विज्ञप्ति जारी गर्दै एक अनलाइनमा प्रकाशित सडक निर्माणमा कमिसनको कुरा नमिलेपछि टेन्डर रद्द भएको भन्ने समाचार गलत र भ्रामक भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘ककनी गाउँपालिकाबारे प्रकाशन भएको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अनलाइन मिडियामा प्रकाशित कमिसन नमिलेर ठेक्का रद्द गरिएको भन्ने विषयमा गत आर्थिक वर्ष ०७९/८० मा ककनी गाउँपालिकाको वडा नम्बर २ को काउले–चित्रे–कुले–गैरीखर्क मोटरबाटोलाई कालोपत्रे भन्ने बाटोको नामबाट कुनै आयोजना छैन ।’

पालिकाले सोही वडाको ग्रामीण सडक कालोपत्रे गर्न विशेष गाउँसभाबाट टेन्डर खुलेकोमा डिजी प्रकाश कन्स्ट्रक्सनको मात्र लागत स्टिमेटभन्दा बढीको कबोल भएकाले सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रिया अस्वीकृत गरिएको प्रस्ट पारेको छ ।
 
उक्त टेन्डर रद्द गरी पालिकाले केन्द्र सरकारको समपूरक बजेटबाट सडक स्तरोन्नतिको काम भने गरिरहेको छ । गत पुस २६ गते गाउँसभा बस्नुपर्नेमा उपभोक्ता समितिलाई नै योजना सम्झौताका लागि पुस २५ सम्मको सम्झौता दिएकाले लगत्तै २६ गते तयारी नपुगेका कारण गाउँ सभा स्थगित भएको पालिकाले जनाएको छ ।

वडाध्यक्षहरूले काउले–चित्रकुले–गौरीखर्क मोटरबाटोको टेन्डर कमिसन नमिलेर रद्द भएको भन्नेलगायतका विषयमा जवाफ माग गरेका थिए । यस्तै, पालिकाले विद्यालय मर्ज, शिक्षक सरुवा र पदस्थापनमा कुनै पक्षपात र भेदभाव नरहेको प्रस्ट पारेको छ । यस्तै, औषधि खरिद सम्बन्धमा सार्वजनिक खरिद ऐनअनुसार नै सबैभन्दा कम कबोल गर्ने सप्लायर्स छनाेट गरी गुणस्तर जाँच गरेर मात्रै खरिद भएको प्रस्ट्याइएको छ ।

सुझावित समाचार