यो वर्षको डाभोसमा भएको विश्व आर्थिक मञ्च सामान्य रहेन, बरु सदाझैँ थकित र बिलखबन्दमा थियो । राजनीतिज्ञ संकटलाई कहिल्यै खेर जान दिनुहुँदैन भन्न मन पराउँछन्, तर नेतागणलाई आजको ‘पोलिक्राइसिस’ (बहुआयामिक संकट)ले सम्मेलन पूर्ण रूपमा गाँजेको थियो ।
अहिले हाम्रा सामु कैयन् व्यक्तिगत चुनौती एक ठाउँमा आएका छन् । आजका संकट एक–अर्कासँग जोडिएका छन् र कुन संकट बलियो हुने भन्नेमै प्रतिस्पर्धा भइरहेको छ । बढ्दो भूराजनीतिक तनाव र मध्यपूर्वमा बढ्दो द्वन्द्वको पृष्ठभूमिमा लालसागरमा जहाजमाथि भइरहेको हुथी आक्रमण विश्वव्यापी अर्थतन्त्रमा असहजताको स्रोत बनेको छ । त्यसमाथि चक्रीय मौसम प्रवृत्ति र जलवायु परिवर्तनको दीर्घकालीन प्रभावले मध्य अमेरिकामा खडेरीको अवस्था निम्त्याएको छ, नतिजा पानामा नहरबाट हुने ढुवानीमा पनि कटौती भएको छ ।
गाजा युद्धको मानवीय क्षति दिन–प्रतिदिन बढ्दै गएको छ र प्यालेस्टिनीको मृत्युको संख्या अहिले २५ हजार नाघेको छ । डाभोसको विभिन्न प्यानल छलफलमा अमेरिकी अधिकारी र विभिन्न युरोपेली एवं अरब कूटनीतिज्ञले क्षेत्रीय एकीकरण र दुई–राज्यीय समाधानमार्फत युद्ध रोक्नका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् ।
युक्रेनको रक्षाका लागि अमेरिका र युरोपबाट घट्दै गएको समर्थनको बीचमा मध्यपूर्वमा बढेको ध्यानाकर्षणले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सामरिक नक्सामा आफ्नो देशको स्थिति पुनस्र्थापित गर्न धौधौ परेको छ । डाभोस सम्मेलनको ठीक अगाडि जेलेन्स्कीले राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक आयोजना गरेका थिए, जहाँ उनको सम्बोधन भावुक थियो । त्यसपछि युक्रेनी प्रतिनिधिलाई एआईदेखि विश्वव्यापी व्यापारसम्मको संवादमा संलग्न हुन पठाइएको थियो, जहाँ यी विषयलाई निरन्तर रूपमा युक्रेनमा चलिरहेको द्वन्द्वसँग जोड्न भनिएको थियो ।
जसरी सामाजिक सञ्जालले व्यक्तिको ध्यान खिच्न प्रतिस्पर्धा गर्छन्, त्यसरी नै वैश्विक संकटले पनि प्रतिस्पर्धा गरिरहेका छन्
अन्ततः युक्रेन र मध्यपूर्व दुवैको संकटलाई सम्बोधन गर्न के गर्न सकिन्छ भन्नेबारे व्यापक सहमति भएको छ । गाजाको सन्दर्भमा सहमतिका पाँच मुख्य तत्व प्रस्तावित गरिएका थिए । पहिलो, बाँकी रहेका इजरायली बन्धकलाई मुक्त गर्ने सम्झौता । दोस्रो, इजरायल र अरब छिमेकीबीच क्षेत्रीय सामान्यीकरणतर्फ जाने । तेस्रो, दुई–राज्य समाधानतर्फ यथार्थपरक मार्ग ठम्याउने । चौथो, प्यालेस्टिनी प्राधिकरणलाई पुनर्जीवित गर्न क्षेत्रीय प्रयास गर्ने । र अन्त्यमा, इजरायलको लेबनानसँगको उत्तरी सीमामा खुला शत्रुपन हटाउने ।
युक्रेनको सम्बन्धमा पत्रकार थोमस फ्राइडम्यानसँगको कुराकानीमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युरोपेली संघ र नाटोको सदस्यताका लागि युक्रेनले यथार्थपरक दृष्टिकोण राख्नुपर्ने तर्क गरेका थिए । तर, ब्लिन्केन युक्रेनलाई बलियो सैन्य, आर्थिक र लोकतान्त्रिक अवस्थामा राख्ने दायित्व पनि पश्चिमको हो भन्ने ठान्छन् । यी सबै एकदमै तार्किक देखिन्छन्, तर सबैभन्दा महत्वपूर्ण बाधा यो निर्णायक चुनावी वर्षमा राजनीतिक अवरोधसँग महत्वाकांक्षालाई जोड्नु हो । यद्यपि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनिश्चित कालसम्म सत्तामा रहन दृढ देखिन्छन् ।
अमेरिकी लोकतन्त्रको संकट श्रोताको दिमागमा राम्रोसँग गढिएको थियो । डोनाल्ड ट्रम्प व्यक्तिगत रूपमा डाभोसमा उपस्थित नभए पनि उनको नाम सम्मेलनभरि छाएको थियो । धेरैले बाइडेन प्रशासनसँग ब्लिन्केन र अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले प्रस्ताव गरेका समाधान पछ्याउन पर्याप्त राजनीतिक पुँजी छ कि छैन भनेर प्रश्न गरेका थिए । र, यदि दुवैले आफ्नो नीति प्राथमिकताहरू पछ्याउन सके भने पनि ट्रम्पले जिते के हुनेछ भनेर पनि प्रश्न गरेका थिए ।
बहुआयामिक संकटबीच पनि एआईले सबैको ध्यान भने खिचेको थियो । प्रविधि कम्पनीका ठुल्ठूला नाम डाभोस सम्मेलनमा उपस्थित थिए, जसमा ओपनएआईका स्याम अल्टमेन, माइक्रोसफ्टका सत्या नडेला, गुगलका पूर्वकार्यकारी अध्यक्ष एरिक स्मिड, डिपमाइन्डका सहसंस्थापक मुस्तफा सुलेमान उपस्थित थिए । मौजुदा अवसर र जोखिमको हिसाब गर्दा उपस्थित सबै एआईले एकदमै नौलो चुनौती ल्याएकोमा सहमत थिए ।
एआई नियमन, राज्यको उपयुक्त भूमिका र आगामी दिनमा कस्तो प्रगतिको अपेक्षा गर्ने भन्ने विषयमा गम्भीर छलफलको कुनै कमी थिएन । तर, एआईको उपयोगिताबारे भएको असहमति देखेर म सबैभन्दा प्रभावित भएँ । सुलेमान र उनका प्रविधि साथीले एआई आगो वा विद्युत्जस्तै उपयोगी हो भन्ने दाबी गरेका थिए, तर इतिहासकार नियाल फग्र्युसनले एआई र क्रिप्टो पूर्ण रूपमा अतिरञ्जित विषय भएको दाबी गरेका थिए ।
जसरी सामजिक सञ्जालहरूले व्यक्तिको ध्यान खिच्न प्रतिस्पर्धा गर्छन्, त्यसरी नै वैश्विक संकटले प्रतिस्पर्धा गरिरहेका छन् । अप्रत्यासित उपायमा नयाँ र अप्रत्यासित कारकको अन्तक्र्रियाले समाधानको खोजीलाई अझ जटिल बनाउँदै अभिभूतको भावना सिर्जना गरिरहेको छ । ७० भन्दा बढी क्षेत्राधिकारमा मतदान गर्न योग्य चार अर्ब मानिसको सहभागितामा हुन गइरहेको सन् २०२४ चुनावले अझ अनिश्चितता थपेको छ ।
मानिसहरू चिन्तित हुनु कुनै आश्चर्यको विषय होइन । मेरो आफ्नै संगठन युरोपियन काउन्सिल अन फरेन रिलेसन्सको एउटा नयाँ सर्वेक्षणले विगत १५ वर्षका पाँच ठूला संकट औँल्याएको छ । सन् २००८ पछिको समय, सन् २०१५ को आप्रवासन संकट, कोभिड–१९, युक्रेन युद्ध र जलवायु परिवर्तन, यी पाँच संकट हुन् । यी पाँच संकटले युरोपेलीलाई ‘संकट समूह’मा विभाजित गरिदिएको छ । यो विभाजनका क्रममा राजनीतिक पहिचानको प्रतिस्पर्धाको नयाँ संकट थपिएको छ ।
सर्वसाधारण मानिसबाट विच्छेद भएका छन् भन्दै हामी बारम्बार डाभोसमा भेला हुने राजनीतिज्ञ, व्यवसायी अगुवा र कूटनीतिज्ञप्रति असन्तुष्टि व्यक्त गर्छैं । यद्यपि, आजको ध्यान अर्थतन्त्रमा यी व्यक्ति त्यस्तै बिलखबन्दमा छन्, जसरी यिनले प्रतिनिधित्व गर्ने मानिस बिलखबन्दमा छन् ।
(लिओनार्ड युरोपियन काउन्सिल अन फरेन रेलेसन्सका निर्देशक हुन्)प्रोजेक्ट सिन्डिकेटबाट