हुथीलाई बमबारीबाट सखाप गर्न सकिँदैन

मंगलबार, १६ माघ, २०८०
डिजिटल संस्करण

इतिहासमा इजरायल र अमेरिकाविरुद्ध ‘एक्सिस अफ रेसिस्टेन्स (प्रतिरोध धुरी)’ले थालेको युद्ध एउटा गैरराज्य समुह अर्थात् हमासको रक्षार्थ गैरराज्य समूहको एउटा गठबन्धन नै सामूहिक रूपमा उत्रिएको पहिलो परिघटना हो । इरानी नेतृत्वको यो धुरीमा सिरियाली लडाकु समूह, प्यालेस्टाइनका हमास र इस्लामिक जिहाद, लेबनानको हिजबुल्लाह, इराकको पपुलर मोबिलाइजेसन युनिट (पिएमयू) र यमनको हुथी समूह (अन्सार अलाह) समावेश छन् । तीन महिनायता उनीहरूले आफ्ना प्यालेस्टाइनी मित्रलाई सघाउन अमेरिकी र इजरायली ठेगानामा निसाना लगाइरहेका छन् । 

तर, अमेरिका, बेलायत र इजरायलले यो समूहलाई अन्तरनिहित उद्देश्य र निहित स्वार्थ धुरीको रूपमा स्वीकार गर्नुको सट्टा इरानी प्रोक्सी (छद्म समूह)हरूको अन्तर्राष्ट्रिय सञ्जालका रूपमा संकुचित रूपमा हेरेका छन् । यसले हवाई आक्रमणका शृंखलाले उनीहरूलाई तर्साएर र बम हानेर नै घुँडा टेकाउन सकिन्छ भन्ने विश्वासमा पश्चिमा गठबन्धन रहेको पुष्टि गर्छ । धुरीभित्रको गतिशीलता र अटुट एकताबारे उनीहरू आधारभूत रूपमा नै भ्रममा छन् । यो मूढताले यो क्षेत्रमा उनीहरूको हस्तक्षेपलाई निकै महँगो बनाउन सक्छ ।

‘एक्सिस अफ रेसिस्टेन्स (प्रतिरोध धुरी)’ इरान समर्थित लडाकु समूह मात्रै होइन, वैचारिक गठबन्धन नै हो

प्रतिरोध धुरी दीर्घकालीन गठबन्धनका रूपमा सुरु भएर युद्धकालीन गठबन्धनको रूपमा विकसित भएको छ । इजरायलको सामना गर्न सैन्य एवं राजनीतिक सहयोगको साझा प्रावधान नै यसका मुख्य सदस्यलाई एकतामा बाँध्ने सूत्र थियो । इरानले लामो समयदेखि हिजबुल्लाह, हमास र अन्य प्यालेस्टाइनी समूहलाई सैन्य एवं आर्थिक सहयोग प्रदान गरिरहेको छ । सिरियाले हिजबुल्लाहका लागि सुरक्षित आपूर्ति मार्ग र हमासका नेताका लागि सुरक्षित आश्रयस्थल उपलब्ध गराए । यसैगरी, हिजबुल्लाहले हमासलाई बम र सुरुङ बनाउने प्राविधिक सीप तथा सैन्य प्रशिक्षण दियो । साथै, इरासनसँग मिलेर वेस्ट बैंक र गाजामा हतियार निर्माण प्रविधि पुर्यायो । 

सन् २०१३ मा सिरियाको समर्थनमा प्रतिरोध धुरीले आफ्नो पहिलो युद्धकालीन गठबन्धन निर्माण गरेको हो । हिजबुल्लाहले त्यो युद्धमा हस्तक्षेप गर्नुका साथै इरानलाई सिरियामा रिभोलुसनरी गर्डस् तैनाथी निम्ति मनायो । नवगठित पिएमयूले पनि यही रुख अपनायो र धुरी थप विस्तारित भयो । सिरियामा त यसको भूमिका रह्यो नै, इस्लामिक स्टेटविरुद्धको लडाइँमा पिएमयूलाई सघाउन इरान र हिजबुल्लाहले सन् २०१४ मा इराकमा प्रत्यक्ष हस्तक्षेप गरे ।

इरानबाट सैन्य तथा राजनीतिक सहयोग प्राप्त गरेको हुथी पनि यो धुरीमा मिसियो । साउदी नेतृत्वको गठबन्धन सेनासँग भिड्न हुथीले हिजबुल्लाहबाट सैन्य प्रशिक्षण प्राप्त गरेका थिए । प्रतिरोध धुरी यति एकताबद्ध र दिगो हुनुका पछाडि उनीहरूको बलियो वैचारिक स्तम्भ र साझा रणनीतिक उद्देश्यले काम गरेको छ । यसका सबै सदस्य साम्राज्यवाद र यहुदीविरोधी छन् ।

उनीहरूको केन्द्रमा प्यालेस्टाइनी मुद्दा छ । अहिले उनीहरूका दुइटा साझा उद्देश्य छन्– इजरायललाई गाजामा निःसर्त युद्धविरामका लागि बाध्य पार्ने र इराक र सिरियाबाट अमेरिकी सेनालाई खेद्ने । यी उद्देश्यलाई पूरा गर्न धुरीमा संलग्न गैरराज्य समूहहरूले आफ्नो राजनीतिक विश्वास र हितअनुरूप काम गरिरहेका छन् । धुरीका समूहलाई इरानले भौतिक सहयोग गरिरहेको भए पनि यो इरानले चाहेजसरी सञ्चालित छैन । अमेरिकी गुप्तचर अधिकारी ब्रायन काट्ज इरानका यी सहयोगी अब इरानी प्रोक्सी मात्र नरहेको तर्क गर्छन् । उनीहरू पारस्परिक रक्षाका लागि वैचारिक रूपले सम्बद्ध, सैन्य रूपले अन्योन्याश्रित र परिपक्व राजनीतिक सैन्य खेलाडी बनिसकेका छन् । 

७ अक्टोबरमा हमासले इजरायलमाथि गरेको अप्रत्याशित आक्रमणले यो कुरा उजागर गरेको छ । इजरायल र अमेरिकी विवरणअनुसार इरानलाई यो हमलाबारे कुनै पूर्वज्ञान थिएन । हिजबुल्लाह, हुथी विद्रोही र पिएमयूले जसरी पूर्वनियोजित (फरवार्ड डिफेन्स) रणनीतिअनुसार इजरायल र अमेरिकाविरुद्ध आक्रमण गर्छन्, हमासले इजरायलमाथि आक्रमण गर्दा सोही रणनीति अपनाएको देखिन्छ । यो रणनीति अहिले सामरिक सैन्य समन्वयको माध्यमबाट कार्यान्वयन भइरहेको छ ।

रणनीतिअन्तर्गत हिजबुल्लाहले युद्ध व्यवस्थापनको भूमिका लिएको र विभिन्न युद्ध मोर्चामा सैन्य अप्रेसनलाई समन्वित गर्ने, योजना बनाउने र निर्देशित गर्ने ठानिन्छ । यसैअनुरूप गाजाबाहिरका तीनवटा युद्ध मोर्चा इजरायलसँगको हिजबुल्लाहको मध्यमस्तरको युद्ध, सिरिया, इराक र इजरायलमाथिको पिएमयूको आक्रमण र इजरायल र लालसागरमा कार्गाे जहाजमाथि हुथीको आक्रमण समन्वित रूपमा गरिन्छन् । 

धुरीको यस्तो उच्चस्तरको समन्वयले अमेरिका र उसका सहयोगीलाई जारी युद्धको तौरतरिकामा आमूल परिवर्तन गर्न आवश्यक रहेको देखाउँछ । यी तत्वविरुद्ध निरन्तर सैन्य कारबाहीले उनीहरूको लडाइँ जारी राख्ने क्षमता नष्ट हुने धारणा जति भ्रामक छ, उत्तिकै खतरनाक पनि छ । द्वन्द्वको दायरा विस्तार गर्ने सैन्य समाधानहरूले केवल यो धुरीबाट धेरैभन्दा धेरै समन्वित प्रतिक्रियालाई मात्रै निम्त्याउनेछ । उनीहरूले सामुद्री ढुवानी मार्ग रक्षाको प्रयास मात्र गरिरहेका छैनन्, शक्तिशाली गैरराज्य समूहहरूको वैचारिक रूपमा एकताबद्ध र एउटा बलियो गठबन्धनविरुद्ध कहिल्यै जित्न नसकिने युद्ध पनि लडिरहेका छन् । पश्चिमा नेताहरूले यस वास्तविकतालाई मनन गर्नु राम्रो हुन्छ । 

हुथी विद्रोहीले अब यस क्षेत्रमा ‘अमेरिका र बेलायतका सबै हित’विरुद्ध द्वन्द्वलाई विस्तार गर्ने धम्की दिइरहेको सन्दर्भमा यमनमा अमेरिका र बेलायतको आक्रमणले क्षेत्रीय युद्धको सम्भावनालाई मात्रै चर्काएको छ । हिजबुल्लाहसँग इजरायलको युद्धको खेल चलिरहेको सन्दर्भमा लेबनान–इजरायली मोर्चा अहिले सबैभन्दा ज्वलनशील छ । साथै, हिजबुल्लाह प्रतिरोध धुरीको सबैभन्दा शक्तिशाली गैरराज्य समूह पनि हो । युद्ध भएमा यो सबैभन्दा दूरगामी र पारस्परिक रूपमा विनाशकारी युद्ध हुनेछ । गाजामा युद्धविरामबाहेक अन्य कुनै पनि कुराले यो क्षेत्रलाई बारुदी सुरुङमा परिणत हुनबाट रोक्न सक्दैन ।
(साद कारडिफ विश्वविद्यालयमा राजनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध अध्यापन गर्छन्) द गार्जियनबाट 

सुझावित समाचार