साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। लगातार सात दिन घटेको नेप्से आइतबार १०.३७ अंकले बढेर दुई हजार ९४.४६ विन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि एक अंकभन्दा कमले बढेका छन्।
तीन सय ६ कम्पनीका एक करोड सात लाख ५१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। यस दिन ७० कम्पनीको सेयर मूल्य घट्दा एक सय ७३ कम्पनीको मूल्यमा वृद्धि भएको छ।
आइतबार मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ खोला जलविद्युत् र सामलिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। हाथवे इन्भेष्टमेन्ट नेपाल र माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले क्रमशः ८.७३ प्रतिशत र ७.९७ प्रतिशत कमाएका छन्।
समग्रमा बजार बढे पनि आज चन्द्रागिरि हिल्स, इन्फिनिटी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त कम्पनी सर्वाधिक गुमाउनेमा परेका छन्। यी कम्पनीको सेयर मूल्य क्रमशः ९.८६, ६.४० र ५.१९ प्रतिशतले घटेका छन्।
नेप्सेका १३ समूहमध्ये आज चार समूहमा गिरावट भएको छ भने बाँकी नौ समूहमा वृद्धि भएको छ। जसमध्ये होटेल तथा पर्यटन समूह सर्वाधिक १.८६ प्रतिशतले घट्दा जलविद्युत्, अन्य र विकास बैंक क्रमशः १.३३, १.३२ र १.२२ प्रतिशतले बढेका छन्।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स र ङादी ग्रुप शीर्ष स्थानमा छन्। यी दुई कम्पनीको क्रमशः ३३ करोड र २३ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।