सत्तारूढ दल एकीकृत समाजवादीको केन्द्रीय परिषद्को दोस्रो बैठक आइतबार सुरु हुँदै छ । राजधानीको प्रज्ञा भवनमा आइतबार बिहान साढे ११ बजे अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । सोमबारसम्म बस्ने बैठकले विधान संशोधन गर्नेछ ।
कम्युनिस्ट आचरण र नैतिकता थप गर्ने भएको छ । ‘पार्टीका नेता र कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्दछ । खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हुनुपर्छ,’ विधानमा थप गर्न गरिएको प्रस्तावमा भनिएको छ, ‘कम्युनिस्ट नैतिकता मूल पक्ष हो । व्यक्तिवादको विस्थापन र सामूहिकताको स्थापनालाई हामीले आत्मसात् गर्नुपर्छ ।’
नेता तथा कार्यकर्ता निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित भएर लाग्ने उच्च क्रान्तिकारी नैतिकता हुनुपर्नेछ । यस्तै, व्यवहार र जीवनशैली सादा र सरल हुनुपर्ने, सादा जीवन उच्च विचार हुनुपर्ने भएको छ ।
‘श्रम शोषण नगर्ने, श्रमप्रति सम्मानको दृष्टिकोण राख्ने, श्रम गर्ने, शुद्ध एवं पारदर्शी आर्थिक व्यवहार गर्ने । महिलाप्रति एकनिष्ठताको साथै समानताको व्यवहार हुनुपर्छ । यो नै कम्युनिस्ट नैतिकता हो,’ मस्यौदामा भनिएको छ ।
विधान संशोधनका लागि विभिन्न विकल्प पनि दिइएको छ । विधान मस्यौदा केन्द्रीय कमिटी १७५ सदस्यीय हुने प्रस्ताव गरिएको छ । त्यसमा पदाधिकारीसहित १५९ पूर्ण र १६ जना वैकल्पिक केन्द्रीय सदस्य हुने भनिएको छ । विकल्पमा वैकल्पिक केन्द्रीय सदस्य नराख्ने प्रस्ताव पनि गरिएको छ । एकजना वरिष्ठ नेता राख्ने कि सम्मानित नेता भन्ने विकल्प अघि सारिएको छ । केन्द्रीय कमिटीको कुल सदस्य संख्याको एकतिहाइ महिला हुने मस्यौदामा उल्लेख छ । केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू केन्द्रीय परिषद्बाट निर्वाचित हुने कि महाधिवेशनबाट भन्ने विकल्प पनि दिइएको छ । पदाधिकारीसहित ५७ सदस्यीय स्थायी कमिटी, स्थायी कमिटी सदस्यसहित १९ सदस्यीय पोलिटब्युरो रहने कि केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५७ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित १९ सदस्यीय स्थायी कमिटीको विकल्प दिइएको छ ।
केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सदस्य एवं पदाधिकारी चयन केन्द्रीय परिषद्ले गर्ने कि राष्ट्रिय महाधिवेशनले गर्ने भन्ने विकल्प पनि थप गरिएको छ । सबै तहका पार्टी पदाधिकारी वा सदस्यले पार्टी स्कुलले सञ्चालन गरेको कक्षामा सामेल भई प्रशिक्षण लिएको हुनुपर्ने प्रावधान विधानमा थप्न प्रस्ताव गरिएको छ ।