शुक्रले गरे उपाधि रक्षा

शनिबार, १३ माघ, २०८०
डिजिटल संस्करण

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका  छन् । प्रतियोगिताको शुक्रबार अन्तिम दिन शुक्रले १ अन्डर ६९ को स्कोर गरेका थिए । उनले समग्रमा ३ अन्डर २ सय ७ स्कोर गर्दै उपाधि हात पारे ।

उनले धरानका अर्का प्रो नीरज तामाङलाई ५ स्ट्रोकको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रोपटक उपाधि जितेका हुन् । शुक्रको यो करिअरकै दसौँ उपाधि हो । उनले उपाधिसँगै एक लाख ४० हजार रुपैयाँ जितेका छन् । शुक्रले भेट्रान प्रो दीपक थापा मगर र पूर्वनम्बर एक गल्फर दीपक आचार्यसँग १० उपाधि बराबरी गरेका छन् । 

धरानको गल्फ कोर्समा १८ होलको सुरुमा नीरज एक स्ट्रोकले पछि परेका थिए । तर, उनले यसको फाइदा लिन सकेनन् । नीरजको निरन्तर खराब प्रदर्शनसँगै शुक्रले सहजै उपाधि रक्षा गरे । ३ ओभर ७३ स्कोरको खराब प्रदर्शनका साथ नीरज उपविजेता बने । उनले समग्रमा २ ओभर २ सय १२ को कार्ड लेखाउँदै ९६ हजार रुपैयाँ हात पारे ।

नेपालका पूर्वनम्बर एक गल्फर भुवन नगरकोटी समग्रमा ३–ओभर दुई सय १३ स्कोरका साथ तेस्रो भएका छन् । उनले अन्तिम दिन १ ओभर ७१ स्कोर गरेका थिए । भुवनले ७२ हजार रुपैयाँ जितेका छन् । समग्रमा ७ ओभर २ सय १७ स्कोर गरेका राजेन राई, भुवनकुमार रोक्का र रामे मगरले संयुक्त रूपमा चौथो स्थान बाँडे । 

See More On

सुझावित समाचार