सर्लाहीको बागमतीमा जारी निःशुल्क आँखा परीक्षण तथा मोतीविन्दुको शल्यक्रिया शिविरमा दुई हजार पाँच सय ५० जनाले आँखा जाँच गराएका छन्। त्यसमध्ये पाँच सय १७ जनामा मोतीविन्दुको समस्या फेला परेको छ।
३ माघबाट सुरु शिविरमा हालसम्म स्क्रिनिङ गरिएका दुई हजार पाँच सय ५० जनामध्ये पाँच सय १७ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको चिकित्सकहरूले जनाएका छन्। नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उनीहरूको बुधबारबाट शल्यक्रियासमेत सुरु गरिएको छ।
बागमती नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा सञ्चालन भइरहेको शिविरमा प्रतिष्ठानकी चिकित्सक रचना सिंह नेतृत्वको टोली खटिएकाे छ। यसअघि सर्लाही र रौतहटमा सञ्चालन भएको स्क्रिनिङ शिविरमा समेत सोही टोली खटिएकाे थियाे।
बुधबार पहिलो दिन बागमती नगरपालिका– ५, सोल्टीमा एक सय ५० जनाको आँखाको शल्यक्रिया गरिएको छ। बाँकीको पनि क्रमैसँग शल्यक्रिया गरिने बागमती नगरपालिकाको भनाइ छ।
शिविरअन्तर्गत बिहीबार र शुक्रबार दुई दिन मोतीविन्दुको समस्या भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिने नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पदम रायमाझीले जानकारी दिए।
जिल्लाको बसबरिय गाउँपालिका, हरिपुर नगरपालिका, बरहथवा नगरपालिका, हरिवन नगरपालिका, चन्द्रपुर नगरपालिका र बागमती नगरपालिकामा माघ ३ देखि १० गतेसम्म मोतीविन्दु स्क्रिनिङ शिविर सञ्चालन भएको थियो।