चीनमा पान्डाको संख्या एक हजार नाै सयको हाराहारीमा पुगेको यहाँको राष्ट्रिय वन तथा घाँसेमैदान प्रशासनले जनाएको छ।
सन् १९८० को दशकमा एक हजार एक सय पान्डा रहेकोमा अहिले एक हजार नाै सयको हाराहारीमा पुगेको चिनियाँ प्रशासनले जनाएको छ।
जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भने, ‘पान्डाको यो उल्लेखनीय वृद्धिको मुख्य कारण चीनको तीव्र सुरक्षा प्रयास हो।’ पान्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो।
‘निकुञ्जले २२ हजार वर्गकिलोमिटरभन्दा बढीको क्षेत्र ओगटेको छ र यसले करिब ७२ प्रतिशत जंगली विशाल पान्डालाई महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ,’ झाङले भने।
सन् २०१२ देखि अहिलेसम्म विशाल पान्डाको वासस्थानको संरक्षित क्षेत्र १३ लाख ९० हजार हेक्टरबाट बढेर २५ लाख ८० हजार हेक्टर पुगेको छ, जसले जंगली पान्डाको जनसंख्याको सुरक्षा र दिगो विकासलाई प्रभावकारी रूपमा कायम राखेको प्रशासनको तथ्यांकले देखाएको छ।