बुढीगण्डकी आयोजनाको प्रारम्भिक लगानी खाका तयार

सरकारले एक खर्ब ८० अर्ब सहुलियत ऋण र ७३.२० अर्ब भिजिएफ दिने, ३० अर्बको आइपिओ निष्कासन गरिने, ३२ अर्ब व्यावसायिक ऋण

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय गौरवको १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको लगानी खाका टुंगो लागेको छ । स्वदेशी लगानीमै बनाउने गरी सरकारले बुधबार सम्भावित लगानीकर्तासँग छलफल गरेर खाका बनाएको हो ।

सरकारले आफैँ उक्त आयोजना बनाउन १७ भदौ ०७९ मा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेड स्थापना गरिसकेको छ । प्रस्तावित लगानीको खाकालाई मन्त्रिपरिषद्बाट स्वीकृत गराएर कार्यान्वयनमा ल्याइनेछ । अब एक–दुई चरणको छलफल गरेर लगानीको खाकालाई स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिने तयारी छ । 

आगामी आवदेखि निर्माण सुरु हुन्छ : डा. जगतकुमार श्रेष्ठ, सिइओबुढीगण्डकी जलविद्युत् कम्पनी
लगानीको खाका टुंगो लागेसँगै आगामी आवदेखि आयोजना निर्माण सुरु गर्ने तयारी गरिरहेका छौँ । आयोजना निर्माणका लागि बोलपत्र आह्वानको आन्तरिक तयारी पनि भइरहेको छ । निर्माण सुरु गरेको आठ वर्षमा आयोजना सञ्चालनमा ल्याउने लक्ष्य छ ।

प्रस्तावित खाकाअनुसार आयोजना बनाउन तीन खर्ब ७५ अर्ब ७८ करोड लगानी आवश्यक देखिएको छ । त्यसमा सरकार आफैँले सहुलियत ऋण र सम्भाव्यता न्यून परिपूरक कोष (भिजिएफ) दिनेछ । नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा कम्पनीलगायतबाट लगानी संकलन गरिनेछ । साथै, स्वदेशी बैंक तथा लगानीकर्ताबाट ऋण लिने खाका पनि छ । समग्रमा प्राधिकरणको नेतृत्व (बहुमत सेयर)मा आयोजना बनाउने गरी खाका बनाइएको छ ।

एक खर्ब ८० अर्ब सहुलियत ऋण र ७३.२० अर्ब भिजिएफ : खाकाअनुसार आयोजना बनाउन सरकारले एक खर्ब ७९ अर्ब ७८ करोड सहुलियत ऋण उपलब्ध गराउनेछ । एक प्रतिशत ब्याजमा सरकारले सोबराबरको ऋण उपलब्ध गराउने पक्का भएको छ । सरकारले पेट्रोलियम पदार्थमा लगाएको पूर्वाधार करमध्येबाट प्रतिलिटर ५ रुपैयाँ आयोजनामा दिइने सहुलियत ऋणको लागि छुट्याउनेछ । यस सम्बन्धमा गत कात्तिक २३ गतेको मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ । यसबाट सरकारले आव ०८१/८२ मा १६.३७ अर्ब, आव ०८२/८३ १८.०१ अर्ब, आवमा ०८३/८४ मा १९.८१ अर्ब र आव ०८४/८५ मा २१.७९ अर्बबराबरको कम्पनीलाई सहुलियत ऋण उपलब्ध गराउनेछ । यसैगरी, आव ०८५/८६ मा २३.९७ अर्ब, आव ०८६/८७ मा २६.३६ अर्ब, आव ०८७/८८ मा ३०.५७ अर्ब र आव ०८८/८९ मा २२.९१ अर्बबराबरको ऋण सरकारले दिनेछ ।

आयोजना बनाउन आठ वर्ष लाग्ने अनुमान छ । तसर्थ, सरकारले आठ वर्षसम्म वार्षिक रूपमा ऋण उपलब्ध गराउनेछ । यसैगरी, सरकारले आयोजनामा ७३ अर्ब २० करोड सम्भाव्यता न्यून परिपूरक कोष (भिजिएफ) पनि दिनेछ । सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐनले यस्तो कोषको व्यवस्था गरेको छ, जुन कोषबाट सरकारले अनुदान वा ऋण परिचालन गर्न सक्छ । यस्तो कोष तत्काल प्रतिफल दिने खालको परियोजना प्रयोग गर्न सकिनेछ । हालसम्म मुआब्जा वितरणमा सरकारले झन्डै ४३ अर्ब रुपैयाँ खर्च गरेको छ, त्यो रकम पनि भिजिएफमै गणना गरिनेछ । बाँकी भिजिएफ रकम भने मुआब्जा तथा क्षतिपूर्ति, पुनस्र्थापना, स्थानान्तरणमा खर्च गरिनेछ । 

९०.७८ अर्बको इक्विटी : प्राधिकरणको ३५ अर्ब, ३० अर्बको आइपिओ : परियोजना निर्माण गर्न स्थापना गरिएको कम्पनीको चुक्तापुँजी ९०.७८ अर्ब बनाउने प्रस्ताव गरिएको छ । हाल उक्त कम्पनीको चुक्तापुँजी २० अर्ब रहेको छ, त्यो बढाउने प्रस्ताव गरिएको छ । यद्यपि, इक्विटीको आकार थपघट हुन सक्नेछ । त्यसमा नेपाल विद्युत् प्राधिकरणले ३५ अर्ब रुपैयाँबराबरको स्वपुँजी लगानी गर्नेछ । प्राधिकरणले निष्कासन गर्न लागेको ६० अर्ब रुपैयाँको आइपिओबाट आउने पैसा यहाँ लगानी गर्ने योजना छ । परियोजना बनाउन ३० अर्बबराबरको सेयर सर्वसाधारण तथा आयोजना प्रभावितलाई बिक्री गरिनेछ ।

यसैगरी, परियोजनामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र नेपाल टेलिकमलाई १०/१० अर्ब इक्विटी लगानी गर्न प्रस्ताव गरिएको छ । यो प्रस्तावमा उनीहरूले ५० प्रतिशत इक्विटी र ५० प्रतिशत ऋण लगानी गर्ने प्रतिबद्धता गरिसकेका छन् । यसैगरी, बिमा कम्पनीहरूलाई पाँच अर्ब, सामाजिक सुरक्षा कोषलाई एक अर्ब र एचआइडिसिएललाई तीन अर्ब इक्विटी लगानी प्रस्ताव गरिएको छ । एचआइडिसिएल इक्विटीसँगै व्यावसायिक कर्जा प्रवाह गर्नसमेत सकारात्मक देखिएको छ ।

३२.०२ अर्ब व्यावसायिक ऋण : परियोजना बनाउन ३२ अर्ब दुई करोड व्यावसायिक ऋण खोजिनेछ । स्वदेशी बैंक तथा संस्थागत लगाानीकर्ताबाट सोबराबरको कर्जा ल्याइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठले बताए । ‘परियोजनामा व्यावसायिक ऋण लगानी गर्न बैंक तथा वित्तीय संस्था र संस्थागत लगानीकर्ताहरूको प्रतिस्पर्धा नै हुने संकेत देखिएको छ । तसर्थ, परियोजना निर्माणमा ऋण जुटाउन पनि समस्या नहुने देखिन्छ,’ उनले बताए । 

सेयर लगानीबाट बाहिरियो सरकार : परियोजनामा सरकारले सेयर लगानी भने नगर्ने भएको छ । यसअघि ऊर्जा मन्त्रालयको आठ अर्ब र अर्थ मन्त्रालयको चार अर्ब ८० करोड सेयर लगानी गर्ने गरी कम्पनी स्थापना गरिएको थियो । अहिले कम्पनीको सेयर संरचना पुनरावलोकन गरिएको छ । 

कहिले उठाइन्छ इक्विटी र व्यावसायिक ऋण : कम्पनीले सहुलियत ऋणको अधिकांश पैसा सकिएपछि इक्विटी र व्यावसायिक ऋण लिनेछ । आव ०८४/८५ मा २३.५४ अर्ब, आव ०८५/८६ मा ४८.३३ अर्ब र आव ०८६/८७ मा १८.९२ अर्ब सेयर लगानी उठाइनेछ । यसैगरी, आव ०८६/८७ मा २९.१८ अर्ब र आव ०८७/८८ मा २.८४ अर्ब ऋण लिइनेछ । 

आगामी आवबाट निर्माण सुरु : लगानीको खाका टुंगो लागेसँगै कम्पनीले आगामी आवदेखि आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य लिएको छ । साथै, निर्माण सुरु गरेको ८ वर्षमा आयोजना सञ्चालनमा ल्याउने लक्ष्य छ । ‘हामीले निर्माणको बोलपत्र आह्वान गर्न आन्तरिक तयारी गरिसकेका छौँ । लगानीको सुनिश्चितता पनि भइसक्यो,’ कम्पनीको सिइओ श्रेष्ठले भने, ‘अर्काे आवदेखि निर्माण सुरु हुन्छ । त्यसको ८ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’

बढ्यो लागत अनुमान : कम्पनीले पछिल्लोपटक गरेको अध्ययनले आयोजनाको अनुमानित लगानी रकम बढेको छ । यसअघि सन् २०१५ मा आयोजना बनाउन दुई खर्ब ७० अर्ब रुपैयाँ लगानी आवश्यक देखिएको थियो । दुई वर्षअघि त्यो तीन खर्ब ३१ अर्ब रुपैयाँ पुगेको थियो । पछिल्लोपटक गरिएको अध्ययनले त्यो तीन खर्ब ७५ अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ । मुख्यतः डलरको मूल्य बढ्दो अवस्थामा रहेकाले लागत अनुमान बढेको कम्पनीका सिइओ श्रेष्ठले बताए । डलरमा आयोजनाको लागत अनुमान दुई अर्ब ८९ करोड अनुमान गरिएको छ । 

कति छ आयोजनाको प्रतिफल ? : अध्ययनअनुसार आयोजनाको स्वलगानी पे ब्याक अवधि ३.९७ वर्ष र ऋण पे ब्याक अवधि ९.०२ वर्ष रहेको छ । आयोजनाको स्वलगानी प्रतिफलदर १६.४५ प्रतिशत हुने अनुमान गरिएको छ । आयोजनाको प्रतिफलदर भने ८.२० प्रतिशत हुनेछ । आयोजनाको औसत रिटर्न अफ इक्विटी २०.८० प्रतिशत हुने अनुमान गरिएको छ । झन्डै ४० वर्षअघि सन् १९८३ मै यो आयोजनाको सम्भाव्यता अध्ययन भएको थियो । धादिङ र गोरखाको सिमानामा बन्ने यसलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा पनि गरिएको छ । तर, यसमाथि उच्चस्तरबाटै निर्माणमा ढिलाइ भएको थियो ।

सरकार परिवर्तन हुनासाथ यो आयोजनामाथि हुने गरेको निर्णय नै उल्टाउने गरेको इतिहास छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ०७३ मा आफू प्रधानमन्त्री हुँदा उक्त आयोजना चीनको गेजुवालाई बनाउन दिने सहमति गरेका थिए । त्यसपछि ०७४ मा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए, उनले भने गेजुवाबाट उक्त आयोजना खोस्ने निर्णय गरेका थिए ।

त्यसपछि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा ०७५ मा उक्त आयोजना गेजुवालाई नै दिने निर्णय गरे । त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएपछि गत चैत ०७८ मा स्वदेशी लगानीमै उक्त आयोजना बनाउने भनेर गेजुवालाई दिने निर्णय खारेज गरिएको थियो । त्यसपछि ०७९ भदौमा कम्पनी स्थापना गरिएको थियो । अहिले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन्, उनले यो आयोजना कुनै पनि हालतमा बनाउने बताउँदै आएका छन् । गत साउन पहिलो साता उनले गोरखास्थित कम्पनीको फिल्ड कार्यान्वयन उद्घाटन पनि गरेका थिए । 
 

सुझावित समाचार