आर्मी क्वार्टरफाइनलमा

खेलको २७औँ मिनेटमा भरत खवासले गरेको एक मात्र गोलको सहयोगमा आर्मीले राइजिङ स्टारलाई १–० ले हरायो

बिहिबार, ११ माघ, २०८०
डिजिटल संस्करण

त्रिभुवन आर्मी क्लब २३औँ राराआहा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा नवलपुरको राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै आर्मीले अन्तिम आठको स्थान सुरक्षित गरेको हो । आर्मीलाई अन्तिम आठमा पुर्याउन भरत खवासले निर्णायक एक गोल गरेका थिए ।

खेलको २७औँ मिनेटमा कमल थापाको क्रसमा भरतले पेनाल्टी क्षेत्रमा डाइभिड हेडिङ गोल गरेका हुन् । राइजिङ स्टारले खेललाई बराबरीमा ल्याउन प्रयास गरे पनि सफल भएन । प्राप्त अवसरमा गोल गर्न नसक्दा राइजिङ प्रतियोगिताबाट बाहिरियो ।

आर्मीले सेमिफाइनल प्रवेशका लागि १४ माघमा संकटा क्लबको सामना गर्नेछ । आर्मीको यो राराआहा गोल्डकपमा १७औँ सहभागिता हो । प्रतियोगिताको फाइनलमा चारपटक पुगे पनि आर्मीले अहिलेसम्म उपाधि जितेको छैन । राइजिङ पहिलो हाफमै दबाबमा परेको थियो । दोस्रो हाफमा आर्मीले सुधारिएको प्रदर्शन गरेको थियो । राइजिङ स्टारले खेलमा नियन्त्रण लिँदै आर्मीमाथि दबाब राखेको थियो । तर, राइजिङ स्टारको फिनिसिङ कमजोर भयो । राइजिङ स्टारले आर्मीविरुद्ध नयाँ खेलाडी मैदानमा उतारेको थियो । आर्मीले यसअघिको जस्तो खेल प्रदर्शन गर्न सकेको थिएन । 

आर्मीका प्रशिक्षक मेघराज केसीले राइजिङ स्टारले राम्रो खेलेको प्रतिक्रिया दिए । ‘उनीहरूले राम्रो खेले,’ केसीले भने, ‘हाम्रोमा पनि नयाँ खेलाडी धेरै छन्, अझै टोली सेट हुन सकेको छैन ।’ राइजिङ स्टारका प्रशिक्षक सन्दीप केसीले विपक्षीलाई दबाबमा राखे पनि गोल गर्न चुकेको बताए । ‘खेलमा दबाब राखेका थियौँ, तर प्राप्त अवसरमा गोल हुन नसक्दा पराजित भयौँ,’ केसीले भने ।

धेरै नयाँ खेलाडी छन्
मेघराज केसी, प्रशिक्षक, आर्मी

टोलीमा धेरै नयाँ खेलाडी छन् । अहिले मेरो ध्यान आर्मीको टोली बलियो बनाउने हो । राइजिङ स्टारविरुद्ध खेलाडीले अपेक्षाअनुरूप खेल्न सकेनन् । राइजिङ स्टारले राम्रो खेल्यो । अब क्वार्टरफाइनलमा योभन्दा राम्रो प्रदर्शन हुनेछ । यसका लागि तयारी गर्नुपर्छ ।

खेलाडीले राम्रो खेले
सन्दीप केसी, प्रशिक्षक, राइजिङ स्टार

आर्मीविरुद्ध खेलाडीले राम्रो खेले, खेलबाट सन्तुष्ट छु । विपक्षीलाई दबाबमा राख्यौँ, तर फिनिसिङमा कमजोरी देखियो । खेलाडीले प्राप्त अवसरमा गोल गर्न सकेनन् । मोफसलमा पहिलो प्रतियोगिताको अनुभव लियौँ । अब मोफसलमा हुने अन्य प्रतियोगितामा योभन्दा राम्रो गर्न सक्छौँ ।  

सुझावित समाचार