सुदूरपश्चिमको राजधानीबारे पुनर्विचार गर्न सांसद ओलीको प्रस्ताव

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण
सुदूरपश्चिमको राजधानीबारे पुनर्विचार गर्न सांसद ओलीको प्रस्ताव

फाइल तस्बिर ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको राजधानी डोटीको दिपायल सार्न माग गरेका छन् । मंगलबार प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै उनले राजधानीको विषयमा पुनर्विचार गर्न सदन र सरकारलाई आग्रह गरे । 

प्रदेश सभाले निर्णय गरेको लामो समयसम्म पनि गोदावरीमा राजधानी निर्माणको काम अगाडि बढ्न नसकेकाले राजधानीको विषय नयाँ शिराबाट उठाउनुपर्ने प्रस्ताव उनले गरे ।

‘अहिले हामी बसिरहेको प्रदेश सभा भवन जिल्ला समन्वय समितिको हो, मुख्यमन्त्री बसेको कार्यालय यातायात व्यवस्था कार्यालय हो, अन्य मन्त्रालयको हालत पनि त्यही छ,’ ओलीले भने, ‘यदि साँच्चिकै पुरानो प्रदेश सभाले गरेको निर्णय कार्यान्वयन गर्न सकिने होइन र यसको औचित्यतता पनि सकिएको हो भने यो प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई नयाँ शिराबाट उठाउनका निमित्त प्रस्ताव गर्न चाहन्छु ।’

अहिलेसम्म संघीय सरकारबाट राजधानीको जग्गा प्राप्त गर्न नसकिएकाले राजधानीबारे नयाँ शिराबाट सोच्नुपर्ने उनको तर्क छ । दिपायल भौगोलिक रूपमा सबैलाई पायक पर्ने र त्यहाँ प्रदेश सभा, मन्त्रालयका लागि आवश्यक संरचना पनि रहेको सांसद ओलीले बताए । 

१२ असोज ०७५ मा प्रदेश सभाले स्थायी राजधानी कैलालीको गोदावरी तोकेको थियो । तर, संघीय सरकारबाट जग्गाको भोगाधिकार प्राप्त नहुँदा राजधानी निर्माणको काम अगाडि बढ्न सकेको छैन । लामो समय राजधानी निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै राजधानीबारे पुनर्विचार हुनुपर्ने आवाज उठ्न थालेका छन् । 

‘केही महिनापहिले माननीय मुख्यमन्त्री डडेल्धुरा पुगेर पत्रकार सम्मेलनमार्फत प्रदेशको राजधानी अन्त सार्न सकिने आशयको अभिव्यक्ति दिनुभएको थियो । विगतदेखि सरकारको नियत हेर्दा राजधानी कार्यान्वयन गर्ने सरोकारमा लागेको देखिँदैन,’ उनले भने, ‘सन्तुलित विकासको अवधारणा र जनताको मनोविज्ञानअनुसार यो सरकार अगाडि बढ्छ र प्रदेश सभा पनि पुनर्विचार गर्न तयार छ भने सबैलाई पायक पर्ने, सबै कुराको व्यवस्थापन गर्न सक्ने उपयुक्त स्थान दिपायल हो ।’    

पुरानो क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा दुई हजारजना अट्ने सभा हल, प्रतिष्ठान र सबै मन्त्रालय अट्न सक्ने गरी संरचना बनेका उनले बताए । प्रदेश सभाले राजधानीबारे निर्णय गर्ने क्रममा राजधानी दिपायल हुनुपर्ने माग गर्दै डोटीमा लामो समय आन्दोलनसमेत भएको थियो । 

‘करोडौँ रकम मन्त्रालयको मर्मतसम्भारमा खर्च गरिसकेका छौँ । त्यो पैसाले प्रदेश सभा र मन्त्रालयका भवन बनाइसक्थ्यौँ,’ डोटीबाट निर्वाचित ओलीले भने, ‘पुरानो क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा दुई हजारजनाको क्षमता रहेको सेती सभा हल छ, सबै मन्त्रालय अट्ने सक्ने गरी संरचना बनेका छन् । प्रदेशको प्रतिष्ठान त्यहीँ छ । अनि त्यहाँ प्रदेशको राजधानी बनाउँदा के घाटा पथ्र्यो ?’

सुझावित समाचार