साताको दोस्रो दिन सोमबार नेप्से सूचक ३१.४९ अंकले घटेर दुई हजार ९८.६९ विन्दुमा आइपुगेको छ। नेप्से सूचक दुई हजार एक सय विन्दुबाट एक तह ओर्लिएर चार दिनपछि पुनः दुई हजारको विन्दुमा आइपुगेको हो।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण खराब सार्वजनिक भएपछि लगानीकर्ता निराश बनेका हुन्। अर्को, पछिल्लो समय नाफा बुक गर्ने लगानीकर्ताहरू हाबी भएपछि बजार निरन्तर दबाबमा रहेको कारणले पनि बजार घट्न पुगेको लगानीकर्ताहरूको दाबी छ।
सोमबार नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ। यसअघि नाै अर्ब रुपैयाँसम्म कारोबार भएकोमा आज ६ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका तीन सय सात कम्पनीको एक करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, न्यादी ग्रुप पावर, अपी पावर, सन नेपाल लाइफ इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको १५ करोड रुपैयाँदेखि ३१ करोड १३ लाख रुपैयाँसम्मको सेयर किनबेच भएको छ।
घटेको बजारमा अपर स्यांगे हाइड्रोपावरको सेयर मूल्यमा करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, मिडसोलु हाइड्रोपावर, आशा लघुवित्त वित्तीय संस्था, न्यादी ग्रुप पावर र मैलुङ खोला जलविद्युत्र कम्पनीको सेयर मूल्य २.८६ प्रतिशतदेखि ९.४६ प्रतिशतसम्मले बढेको छ।
घटेको बजारमा दोर्दी खोला जलविद्युत् कम्पनी, हिमालयन लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, रिडी पावर कम्पनी र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.५७ प्रतिशतदेखि ८.३३ प्रतिशतले घटेको छ।