बहुप्रतीक्षित बिवाइडी सिल नेपाली बजारमा भित्रिएको छ । यसलाई बिवाइडीको आधिकारिक वितरक सिमेक्स इन्क प्रालिले भित्र्याएको हो । विद्युतीय सवारीसाधनको बजारमा क्रान्ति ल्याउने भनिएको बिवाइडी सिल सुविधा, प्रविधि र प्रस्तुतिको संगम रहेको सिमेक्सले जनाएको छ । डाइनामिक र इन्टेलिजेन्स सेडान भएको बिवाइडी सिलले उच्च प्रविधि सुविधासँगै एथलेटिकिजमलाई सहजै मिश्रण गर्ने कम्पनीले बताएको छ ।
यसमा नवीन प्रविधिमध्ये ब्लेड ब्याट्रीलाई सवारीको संरचनामा समाहित गर्दै सुरक्षा, दक्षता र ठाउँको उपयोग बढाइएको सेल–टु–बडी टेक्नोलोजी भएको बताइएको छ । बिवाइडीमा सिललाई एट–इन–वन इलेक्ट्रिक पावर ट्रेनले रियर ह्विल ड्राइभ संस्करणमा १५० र २३० किलोवाटको पावर दिन्छ । साथै, सबै ह्विल ड्राइभ संस्करणमा ३९० किलोवाटको संयुक्त मोटरपावर आउटपुट प्रदान गर्ने पनि कम्पनीले जनाएको छ ।
बिवाइडी सिल डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन फरक ट्रिममा उपलब्ध रहेको बताइएको छ । यसको मूल्य क्रमशः एक करोड, एक करोड ३९ लाख र एक करोड ८५ लाख रहेको बताइएको छ । त्यसैगरी, यो गाडी आर्कटिक नीलो, अरोरा सेतो, कज्मोस कालो र एटलान्टिक ग्रे गरी चार विभिन्न रङमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।