३ प्रश्न

सोमबार, ८ माघ, २०८०
डिजिटल संस्करण

अयोध्यामा नवनिर्मित राममन्दिरमा आज हुने प्राणप्रतिष्ठाबारे तपाईंको टिप्पणी के छ ? 
पाँच सय वर्षको अन्तरालपछि अयोध्यामा राममन्दिरको पुनर्निर्माण भारतीय चेतनाको आध्यात्मिक जरा पल्लवित भएको सूचना हो । हिन्दुधर्मलाई राष्ट्रिय जागरणको मूलधार बनाएर भारत नयाँ राजनीतिक व्यवस्था रचनामा अघि बढेको छ । भारत राममय हुन थालेको अवस्था नेपालका लागि आध्यात्मिक मात्र होइन, राजनीतिक दृष्टिमा पनि अर्थपूर्ण छ । राष्ट्रिय राजनीतिको स्वामित्व सुरक्षित राखेर धार्मिक सामीप्यको प्रासंगिकतालाई सम्हाल्ने जिम्मेवारी नेपालको नेतृत्वमा थपिएको छ ।  

भारत राममय हुन थाल्नुले भावी भारतीय राजनीतिक सिलसिलाको कस्तो संकेत दिन्छ ?
 आगामी आमचुनावले नरेन्द्र मोदीलाई तेस्रोपटक प्रधानमन्त्री निर्वाचित गर्ने सम्भावना छ । पछिल्लो चुनावी घोषणापत्र जारी गर्दा उनले हिन्दु राष्ट्रवादलाई आफ्नो प्रेरणा बताएका थिए । पहिलो र दोस्रो कार्यकाल अर्थतन्त्र, सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धमा केन्द्रित गरेका मोदीको तेस्रो कार्यकाल हिन्दु राष्ट्रवादलाई भारतको पहिचान बनाउन केन्द्रित हुनेछ । राष्ट्रियस्तरमा अर्को पार्टी नरहेको र धर्मनिरपेक्षताको पक्ष निकै कमजोर भइसकेको अहिलेको अवस्थामा भारतीय राजनीतिमा हिन्दुत्वको एकाधिकार संस्थागत रूपमै कायम हुन सक्छ । हिन्दु राष्ट्रवादमार्फत इतिहासको संशोधन र भारतीय मानसिकताको पुनर्समायोजनको क्रम सुरु हुनेछ । यसको क्षेत्रीय र अन्तर्राष्ट्रिय आयाम राजनीतिक र कूटनीतिक रूपमै उल्लेख्य हुनेछ । 

यसमा नेपालको कूटनीतिले सम्बोधन गर्नुपर्ने विषय के हो ? 
विश्व शक्ति सन्तुलनमा मोलतोल गर्ने सर्वाधिक हैसियत बनाएको भारतले हिन्दुत्वलाई आफ्नो पहिचान र हिन्दु राष्ट्रवादलाई सामरिक मार्गचित्र बनाउँदा अमेरिका र चीनको ध्यान आकर्षित हुन्छ । हिन्दु राष्ट्रवादले चीनको निधारमा गाँठो परेको जानकारी ग्लोबल टाइम्सले १९ जुलाई २०१७ मै दिएको थियो । भारतको चीनसँग द्वन्द्व तिखारिनु र अमेरिकासँगको निकटता बढ्नु नेपालका लागि थप कूटनीतिक जटिलता हो । रचना हुन थालेको नयाँ विश्व–व्यवस्थाका दुवै नयाँ केन्द्र छिमेकी र रैथाने केन्द्रको प्रवेश भइसकेको नेपाललाई सुरक्षित राख्न अलमस्त कूटनीति छाड्नुपर्छ । 

सुझावित समाचार