आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डले दिएको तीन सय तीन रनको विशाल लक्ष्य पछ्याएको नेपाल हारको निकट पुगेको छ।
अन्तिम आशाका रूपमा रहेको ओपनर अर्जुन कुमाल ९० रन बनाएर आउट भएपछि नेपाल हारको निकट पुगेको हो। सात ब्याटर आउट भइसक्दा पनि उनी न्युजिल्यान्डका बलरसँग डटिरहेका थिए।
उनले एक इन्ड सम्हालेर रहँदा अर्को इन्डबाट लगातार विकेट गइरहेको थियो। तर, शतकको नजिक पुगेपछि उनी आफैँ पनि सम्हालिन सकेनन्। रिक्वाएर्ड रेट लगातार बढिरहेका वेला खेलमा जितको सम्भावना कायम राख्न अर्जुन ठूलो सट खेल्नैपर्ने दबाबमा थिए। यस्तोमा इबल्ड वाउटर स्रेउडरको बाउन्सरमा ठूलो सट प्रहार गर्न खोज्दा क्याच दिन पुगे।
उनीसँग विश्वकपमा शतक प्रहार गर्ने पहिलो नेपालीका रूपमा नाम लेखाउने मौका थियो। उनी त्यो इतिहास रच्न कम्तीमा यो म्याचमा चुके। विश्वकपमा नेपाली ब्याटरबाट अहिलेसम्म शतक निस्किएको छैन। दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ९८ रन बनाएका छन्।
प्रदीपले सन् २०१२ मा नामिबियाविरुद्ध अविजित ९८ रन बनाएका थिए । यस्तै, कनिष्क चौगाइँले २००४ मा पपुवान्युगिनीविरुद्ध अविजित ९०, शरद भेषावकरले आयरल्यान्डविरुद्ध सन् २००६ मा अविजित ८२ तथा त्यसअघि सन् २००४ मा इंग्ल्यान्डविरुद्ध ८२ रनको इनिङ खेलेका थिए ।