गोरखनाथको समावेशिताको विरासत गुम्दै

डिजिटल संस्करण

अयोध्यामा राम मन्दिरको उद्घाटन भइरहँदा हाम्रो मानसपटलमा उत्तर प्रदेशको अर्को मन्दिरको सम्झना आएको छ । कुनैवेला पवित्रताको प्रतीक मानिने गोरखनाथ मठले अद्वितीय अध्यात्म बोक्छ । यो मठको संरक्षण उत्तर प्रदेशका मुख्यमन्त्री एवं महन्त योगी आदित्यनाथले गरिरहेका छन् । विडम्बना के छ भने गोरखनाथको अनुयायी हुँ भन्ने आदित्यनाथको राजनीतिले भने गोरखनाथको समावेशिताको विरासतलाई अवमूल्यन गरिरहेको छ । यस विरासतलाई अहिले सम्झिनु जरुरी छ । किनभने, अबका केही दिनमा भारतमा आस्था र राजनीतिबीच भिन्नता देखिनेछैन, सारा मुलुकको नजर राम मन्दिरको प्राण प्रतिष्ठामा अडिएको छ । 

विद्वान्हरूका अनुसार ११औँ शताब्दीका गोरखनाथलाई नाथ सम्प्रदायका संस्थापक भनेर पनि चिनिन्छ । गोरखनाथका अनुयायीले आफूलाई योगी, गोरखनाथी, दर्शनी वा कनफट्टा भनेर चिनाउँछन् । गोरखनाथ श्रेणीमा पर्ने भएकाले आदित्यनाथलाई ‘योगीजी’ भनेर पनि सम्बोधन गरिन्छ । महान् गोरखनाथका अनुयायीमा दुवै हिन्दू र मुसलमान पर्थे । गोरखनाथका पहिलो अनुयायीलाई योगी वर्धनाथ भनेर सम्बोधन गरिन्थ्यो । गोरखनाथ र वर्धनाथ अहिले गोरखनाथ मन्दिर भएको ठाउँमा पुगेका थिए र यो ठाउँ पछि गोरखपुरका नामले चर्चित भयो । ५२ एकड जमिनमा फैलिएको अहिलेको मन्दिरको श्रेय महन्त बुद्धनाथ (सन् १७०८–१७२३) लाई दिइन्छ । ऐतिहासिक प्रमाणका अनुसार अबधका तत्कालीन नबाब असफ–उद–दौलाहले १८औँ शताब्दीमा गोरखनाथका भक्त एवं फकिर बाबा रोशन अलीलाई जमिन दान दिएका थिए । यो जमिनले मन्दिरलाई थप परिष्कृत गराउन मद्दत गरेको थियो । अझै पनि मन्दिरको पछाडि रोशन अलीको दरगाह छ, यो समावेशिता गोरखपुरको पहिचान हो । 

आफू गोरखनाथको अनुयायी हुँ भन्ने योगी आदित्यनाथले गरिरहेको राजनीतिले गोरखनाथमा हुनुपर्ने समावेशिताको विरासतलाई अवमूल्यन गर्छ

गोरखपुर भारतका देओरिया, कुशीनगर, महाराजगन्ज, गोपालगन्ज, सिवान जिल्ला र भारतसँग सीमा जोडिएका नेपालका केही हिस्साको सांस्कृतिक राजधानी हो । नेपालको गोर्खा समुदायको जरो गोरखनाथ पन्थसँग गएर जोडिन्छ । व्यवस्थापनमा दिग्विजयनाथ आउनुअगाडिसम्म सन् १९३० को दशकसम्म गोरखनाथ मन्दिर विविधताको मूर्त केन्द्र थियो । जब सन् १९३७ मा विनायक दामोदर सावरकर हिन्दू महासभाका अध्यक्ष बने, तब दिग्विजयनाथ महासभाको गोरखपुर प्रमुख बनेका थिए । उनलाई पछि महात्मा गान्धी हत्याकाण्डमा गिरफ्तार गरिएको थियो । चुनावी राजनीतिमा प्रवेश गर्ने पहिलो महन्त थिए दिग्विजयनाथ । सन् १९६७ मा गोरखपुर लोकसभा सिटमा उनी विजयी भएका थिए र सन् १९६९ मा उनको निधन भएको थियो । दिग्विजयनाथका उत्तराधिकारी अवैद्यनाथ र आदित्यनाथले आफूलाई आक्रामक हिन्दुत्वको प्रतीकका रूपमा अघि सारेका थिए ।  

गोरखनाथले कैयौँ प्रेमकथालाई प्रेरित गरेको छ, जुन पछि भारतका लोककथा पनि बने । हिर–राँझाका राँझा जो हिरका लागि एक्लो यात्रामा निस्केका थिए, उनी गोरखनाथका अनुयायी भएका थिए । स्मरण रहोस्, हिर र राँझा दुवै मुसलमान थिए । सोरठी–ब्रिजभार कथाका नायक ब्रिजभारलाई पनि गोरखनाथले प्रेमको यात्रामा सघाएका थिए । गोरखनाथले नै राजा भर्तृहरिलाई पत्नी पिंगलाप्रतिको प्रेमलाई त्यागेर योगी बनाउनमा भूमिका खेलेका थिए ।

चर्चित हिन्दी लेखक हजारीप्रसाद द्विवेदीले नाथ सम्प्रदायसम्बन्धी पुस्तकमा गोरखनाथ वा नाथ सम्प्रदायका अनुयायी भारतभरि फैलिएको उल्लेख गरेका छन् । पन्जाबमा योगीलाई रावल भनिन्छ । बंगालमा जुगी वा जोगी भनिन्छ । उत्तर प्रदेश र विहारमा थुप्रै योगी छन्, तिनले सोरठी–ब्रिजभार, भर्तृहरि–पिंगला, हिर–राँझा, कबिर, नानक राइदास, दादु र मिराको भजन गाउँछन् । यी योगीले भगवान् राम र शिव–पार्वतीको भजन सारंगीको धुनसँगै गाउँछन् । यस क्रममा गोरखनाथ र उनका गुरु मत्स्येन्द्रनाथको प्रशंसा पनि गर्छन् । पन्जाबमा रावल भनिएझैँ यी अनुयायीलाई हैदराबादमा दर्वेश भनिन्छ भने कोन्कनमा गोसवी भनेर बोलाइन्छ ।      

नाथ सम्प्रदायले ब्राह्मण सर्वोच्चता स्विकार्दैनन् । यो सम्प्रदायका अनुयायी आफ्ना गुरु सिलाइबुनाइ गर्ने, ग्वाला र किसान समुदायबाट रोज्छन् । गुरु र भक्त भिक्षाटनमा लाग्छन् । द्विवेदीका अनुसार दुवै हिन्दू र मुसलमान समुदायका तल्लो जात भनिएका मानिस योगी बन्छन् । यी योगी उत्तरदेखि दक्षिणका विन्ध्यासम्म फैलिएका छन् । 

म (लालु) अविभाजित सारन जिल्लाको फुलबरिया गाउँमा जन्मेको हुँ र यो जिल्ला गोरखपुरसँग जोडिएको छ । मेरो पुस्ता योगीले सारंगी र भजन गाएको सुनेर हुर्केको हो । यी भजन समयक्रममा लोकगायन वा लोकनाटक प्रस्तुत गर्नेहरूको जीविकाको स्रोत बनेको छ । यी भजनमा हुने लोककथाप्रति म उत्साहित हुन्छु । सन् १९९० मा विहारको मुख्यमन्त्री हुँदा म यस्ता नाटक गर्न लगाउँथेँ । अहिले पनि फुर्सद भयो भने म नाटक गराउँछु । 

एक रेकर्डिङमा ओशोलाई हिन्दी भाषाका कवि सुमित्रानन्दन पन्त भारतका १२ मुख्य धार्मिक व्यक्तित्वको नाम छान्न भन्छन् । कृष्ण, पतञ्जली, गौतम बुद्ध, महावीर, नागार्जुन, शंकर, गोरखनाथ, कबिर, नानक, मिरा र रामकृष्ण ओशोले छानेका नाम हुन् । पन्तले त्यसपछि क्रमशः सूचीमध्ये सात, पाँच र चार छान्न आग्रह गरे । ओशोले छानेका चारमा कृष्ण, पतञ्जली, बुद्ध र गोरखनाथ परेका थिए । जब पन्तले तीनजनाको नाम छान्न भने, तब ओशोले छान्न अस्वीकार गरे ।  
ओशोले मैले गोरखनाथलाई सूचीबाट हटाउन सक्दिनँ भनेका थिए । उनले भनेका थिए– गोरखनाथले नयाँ धर्मलाई जन्म दिएका थिए । गोरखनाथविना न कबिर हुन्थे, न नानक । त्यसैगरी दादु, वाजिद, फरिद वा मिरा पनि हुन्थेनन् । भारतको समग्र भक्ति एवं सुफी परम्परा गोरखनाथको ऋणी छ । अन्तरात्मा खोज्ने मामिलामा गोरखनाथको शिक्षाबराबर कोही पनि छैन । 

(यादव राष्ट्रिय जनता दलका अध्यक्ष हुन् भने बर्मा यादवका जीवनीकार एवं पत्रकार हुन्) द इन्डियन एक्सप्रेसबाट

सुझावित समाचार