अछाममा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

शनिबार, ६ माघ, २०८०
डिजिटल संस्करण

अछाम सदरमुकाम मंगलसेनमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ। मंगलसेन बृहत् खेल मैदानमा अछाम क्षेत्र नम्बर २ का संघीय सांसद पुष्पबहादुर शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

प्रतियोगितामा जिल्लाका दशवटै स्थानीय तहका खेलाडीहरू सहभागी छन्। उनीहरू पालिकास्तरबाट उत्कृष्ट बनेर जिल्लास्तरको उपाधिका लागि मैदानमा उत्रिएका हुन्।

जिल्ला खेलकुद समितिको आयोजना तथा मंगलसेन नगरपालिकाको सहआयोजनामा सुरु भएको प्रतियोगितामा भलिबल, कबडीलगायतका दर्जनौँ खेलहरू खेलाइनेछ। उद्घाटन समारोहमा दशवटै स्थानीय तहबाट सदरमुकाम आएका खेलाडीहरूले मार्चपास गरेर अतिथिहरूलाई खेल मैदानमा भव्य स्वागत गरेका थिए।

सभामा खेलाडीहरूको स्वागतपछि सम्बोधन गर्दै संघीय सांसद शाहले खेल क्षेत्रको विकास नभएसम्म अन्य कुरामा प्रगति हुन नसक्ने बताए। उनले राष्ट्र र स्वास्थ्य दुवैका लागि खेल आवश्यक रहेकाले यसमा ठूलो लगानी जरुरत रहेको उल्लेख गरे।

प्रतियोगिताको उद्घाटनमा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र दशवटै स्थानीय तहका प्रमुखसहित जिल्लाका अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

सुझावित समाचार