व्यवस्थामा सुधार ल्याउन आन्दोलनको विकल्प रहेन : अध्यक्ष राउत

शनिबार, ६ माघ, २०८०
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले शासन व्यवस्थामा सुधार ल्याउन आन्दोलनको विकल्प नरहेको बताएका छन्।

शनिबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले शासन व्यवस्था उत्कृष्ट भए पनि यसको कार्यान्वयन स्वतन्त्र रूपले नभइरहेको धारणा राखे।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, केपी शर्मा ओली र माधवकुमार नेपालतर्फ इंगित गर्दै राउतले मन्त्रिपरिषद् चार नेताको चंगुलमा रहेको टिप्पणी गरे। संसद् तथा मन्त्रिपरिषदमा यिनकै निर्णयमा प्रत्येक काम हुने गरेको र अन्य व्यक्तिको कुनै कुरा नचल्ने गरेको उनले उल्लेख गरे। आफूहरूले संसदमा चाहेर पनि कुनै काम गर्न नसकेको राउतले भनाइ थियो।

डा. राउतले प्रधानमन्त्री र राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुनुपर्ने तथा प्रधानन्यायाधीश, निर्वाचन प्रमुख, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता संवैधानिक निकायका प्रमुखको नियुक्ति जनताको मतले खुला प्रतिस्पर्धाबाट हुनुपर्ने बताए। यस्ता प्रमुखलाई तानाशाही हुन नदिन जनताकै मत संकलन गरी पदबाट हटाउन सक्ने कानुन पनि आवश्यक रहेको उनले प्रस्ट्याए।

यसका लागि सडकमा आन्दोलन गर्नैपर्ने अवस्था आइसकेको राउतको दाबी छ। ‘अहिलेको सत्ताधारी शासक पहिलेभन्दा बढी प्रतिगामी छन्, अधिकार दिन चाहिरहेका छैनन्,’ उनले भने, ‘आन्दोलनको लागि सबै तयार रहन आवश्यक छ। आन्दोलन गर्नैपर्छ।’

वर्तमान अवस्थामा जनमत पार्टी सरकारमै बस्ने कि नबस्ने भन्ने सन्दर्भमा अध्यक्ष डा. राउतले सरकारबाट आफैँ नबाहिरिने प्रस्ट पारेका छन्। सरकारमा रहनु पनि आफ्नो अधिकार रहेको उल्लेख गर्दै उनले सरकारमा बस्नैपर्ने सोच भने नरहेको बताए।‌

‘हामी सरकारमा रहेर पनि गलत कदममा साथ दिइरहेको छैनौँ। हामीले उपराष्ट्रपतिमा पनि उम्मेदवार उठाएका थियौँ, राष्ट्रिय सभामा पनि उम्मेदवार उठाएका छौँ,’ उनले भने, ‘हामीलाई सरकारबाट निकाल्छन् भने डर छैन। तर, त्यहाँ बसेसम्म जनताको बढीभन्दा बढी काम गर्ने प्रयासमा छौँ।’

सुझावित समाचार