लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा घरसहित पसलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। बिहीबार राति आगलागीमा परेर ४४ वर्षीया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर बच्न सफल भएका छ्न्।
बेँसीसहर नगरपालिकाको गैरीडाँडा घर भएका श्रेष्ठ दम्पती बेँसीसहर–चामे सडकखण्डको स्याँगेमा सडक पुगेसँगै १८ वर्षदेखि किराना र कपडा पसल सञ्चालन गरेर बस्दै आएका थिए। मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष बलबहादुर गुरुङले राति साढे ११ बजेतिर आगलागी भएको अनुमान गरिएको र आफू १२ बजेतिर पुग्दा आगो ठूलो मात्रामा दन्किरहेको बताए। स्थानीय साथै तत्काल प्रहरीको टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नसकिएको र नजिकै रहेका ग्यासका सिलिन्डरहरू हटाउन सफल भएकाले अन्य घरहरू आगलागीबाट जोगिएको उनले बताए।
फलामे पोल गाडेर पर्खाल लगाएको, बाहिर सटर र माथि टिनको छानो लगाएर बनाएको घरमा रहेको पसलसमेत आगलागी भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट ग१६प ३९३८ को मोटरसाइकल पनि जलेको छ।