रौतहटको देवाही गोनाही नगरपालिकाका तत्कालीन प्रमुख धर्मेन्द्रप्रसाद पटेललाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । शुक्रबार विशेष अदालतका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।
तत्कालीन प्रमुख पटेलले आफ्ना सहयोगी अशोकप्रसाद पटेलसमेतको सहयोगमा घुस मागेको भन्ने उजुरी परेपछि ०७८ को फागुनमध्यमा अशोक दुई लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईपटक गरी पाँच लाख रुपैयाँ लिएको दाबीसहित मुद्दा दायर गरेको थियो ।
भवन निर्माणको अन्तिम भुक्तानीका लागि उनले सेवाग्राहीसँग घुस मागेका थिए । नगद लिँदा पक्राउ नपरेका अशोक चेक लिँदा पक्राउ परेका थिए । जसपछि विशेष अदालतमा अख्तियारले ६ चैत ०७८ मा मुद्दा दायर गरेको थियो । जसमा दुवैजनाले सफाइ पाएका हुन् ।