कृषिप्रधान देश नारामा मात्र सीमित भयो : मन्त्री भुसाल

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालले  नेपाल कृषिप्रधान देश नारामा मात्र सीमित रहेको बताएका छन्।

शुक्रबारबाट सर्लाहीको हरिवनमा सुरु भएको तीनदिने प्रदेशस्तरीय दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको उद्घाटन गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री भुसालले यस्तो बताएका हुन्।

देशको कुल गार्हस्थ्य उत्पादनको २४ प्रतिशत योगदान गरेको कृषि क्षेत्रलाई तीन प्रतिशत लगानी रहनु यसको उदाहरण भएको उनकाे भनाइ थियाे।  कृषिप्रधान देश भए पनि, यहाँ कृषिलाई प्रधान स्थान नदिइएको उनको तर्क थियो। कृषि जीवन भएकाले कुरा बुझ्नुपर्ने उन्को भनाइ थियो। 

‘पछिल्लो समय समाज कृषिबाट टाढिँदै गएका छ,’ उनले भने, ‘भन्न त भन्छौँ कृषिप्रधान देश, तर कृषिलाई प्रधानता दिएर काम गरिरहेका छैनौँ। अन्य क्षेत्रमा गौरवको योजना भनेर सञ्चालन गरेका छौँ। यातायातको क्षेत्रमा, उद्योगको क्षेत्रमा, पर्यटनको क्षेत्रमा, विद्युतको क्षेत्रमा हाम्रा गौरवका योजना छन्। तर, कृषि क्षेत्रमा छैन। देशमा परम्परा नै यस्तो बनेको छ। यो आजको मात्र समस्या हाेइन। हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड भने पनि उतपादन भने पनि यही नै हो। यसैबाट हामीले केही हदसम्म आयात प्रतिस्थापन गरेका छौँ। निर्यात गरेका छौँ।’

उनले कृषि क्षेत्रको पहिलो र सबैभन्दा ठूलो समस्या सिँचाइ भएको बताए। चुरेका क्षेत्रहरूलाई जोडेर नहरको व्यवस्था नगरे तराईका समथर फाँट  मरुभूमि बन्ने कुरा आफूले पटक–पटक भन्ने गरेको उनको तर्क थियो। यसतर्फ तीनै तहका सरकार सतर्क हुनुपर्ने मन्त्री भुसालले दाबी गरे। 

गत वर्षबाट सरकारले किसानलाई मल उपलब्ध गराउने काममा तदारुकता देखाएको मन्त्री भुसालले दाबी गरे। सिजनमा खादमल पर्याप्त भएकै कारण उत्पादन भूमि घट्दा पनि धान उत्पादन बढेको बताए। सरकारले केही गरेन वा देशमा कृषि क्षेत्रमा केही भएन भनेर निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए। तैपनि कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न जरुरी रहेको उनले औँल्याए। 

कृषि क्षेत्रको परिवर्तनमा संघ सरकारले मात्र गर्ने भन्ने कुरा नरहेकाले यसलाई तीनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो। मधेश प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले किसानसँग मिलेर काम गर्न चाहेको बताए।

किसानका बाली बिमादेखि, सिँचाइका लागि बोरिङ गर्ने, उत्पादनको बजारीकरणलगायतका कुरामा समेत प्रदेश सरकार गम्भीर रहेको उनको तर्क थियो। मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले किसानको कुरा सरकारको पहिलो प्राथमिकतामा परे मात्र देश कृषिप्रधान बन्ने बताए।

तीन दिनसम्म सञ्चालन हुने प्रदेशस्तरीय प्रदर्शनीको मन्त्री भुसालले उद्घाटन गरे। स्थानीय उत्पादनको प्रोत्साहन तथा कृषिलाई प्रविधिकरण तथा व्यावसायीकरण गर्न हरिवन नगरपालिकाको आयोजनामा यो प्रदर्शनी सुरु गरेको हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी (रमेश)ले जानकारी दिए। ६० वटा स्टल रहेको प्रदर्शनीमा विभिन्न कृषि औजार, स्थानीय कृषि उत्पादनलगायतका सामग्री प्रदर्शनीमा राखिएको छ। 
    
 

See More On

सुझावित समाचार