हरिवन नगरपालिका—८, सुर्ती विकास मैदानमा ‘मधेश प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मूल नाराका साथ प्रदर्शनी हुने भएको छ । तीनदिने मधेश प्रदेशस्तरीय कृषि प्रदर्शनी मेलाको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । प्रदर्शनीको तयारीस्वरूप कार्यक्रम स्थलमा स्टल(प्रदर्शनी स्थल) निर्माण, प्रदेशस्तरकै प्रचारप्रसारलाई जोड दिइएको आयोजक समितिका संयोजक केशवराज थापाले जानकारी दिए ।
प्रदर्शनी माघ ५ देखि ७ सम्म आयोजना हुन लागेको हो । प्रदर्शनीमा डेरी कृषि उत्पादन तथा कृषि औजार राखिने तथा औजार प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकले जनाएको छ । प्रदर्शनीको संघीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले उद्घाटन गर्ने हरिवन नगरपालिका—८, का वडाध्यक्ष तथा प्रचारप्रसार समिति संयोजक प्रज्वल ढुंगानाले जानकारी दिए । स्थानीय कृषि उत्पादनको प्रोत्साहन तथा प्रवद्र्धनमा प्रदर्शनी कोसेढुंगा सावित हुने उनले बताए ।
प्रदर्शनीमा फलफूल, दुग्धजन्य उत्पादन, दलहन, तरकारी उत्पादनलगायत क्षेत्रका उत्कृष्ट किसानलाई पुरस्कृतसमेत गरिने भएको छ । यस प्रदर्शनीको पहिलो संस्करण गत वर्ष वैशाख महिनामा सम्पन्न भएको थियो । आयोजकका अनुसार प्रदर्शनीको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ, जसमध्ये प्रदर्शनीका सहआयोजकबाट करिब २० लाख रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ ।
प्रदेश दुग्ध विकास बोर्ड, कृषि अनुसन्धान निर्देशनालय, परवानीपुर पर्सा, कृषि ज्ञान केन्द्र सर्लाही, हेल्बेटास नेपाल, इन्दुशंकर चिनी उद्योग र हेफर नेपालसँगको सहकार्यमा प्रदर्शनी गर्न लागिएको हो । यस क्षेत्रमा निर्वाहमुखी खेती प्रणाली मात्र हुने गरेकाले व्यावसायिक खेती आजको आवश्यकता रहेको आयोजक हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।
व्यावसायिक कृषिमा यान्त्रिकीकरण मुख्य चुनौती रहकाले प्रदर्शनीले टेवा पुर्याउने नगरप्रमुख बुढाथोकीले बताए । ‘कृषि औजारको प्रदर्शनीले किसानलाई व्यावसायिक खेतीतर्फ लाग्न उत्प्रेरणा मिल्छ,’ मेयर बुढाथोकीले भने, ‘कृषि औजारको प्रयोगले कम लगानीमै बढी आम्दानी लिन सक्छौँ भन्ने विश्वव्यापी मान्यता स्थानीय किसानमा समेत स्थापित गराउने अपेक्षा लिएका छौँ ।’