चौथो टाइगर कप भलिबल : एपिएफ र न्यु डायमन्ड फाइनलमा

शुक्रबार, ५ माघ, २०८०
डिजिटल संस्करण
चौथो टाइगर कप भलिबल : एपिएफ र न्यु डायमन्ड फाइनलमा

त्रिभुवन आर्मीविरुद्ध सट प्रहार गर्दै गण्डकीका खेलाडी ।

साबिक विजेता नेपाल एपिएफ क्लबले चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिप उपाधि रक्षाका लागि फाइनलमा न्यु डायमन्ड स्पोर्टस् क्लबको सामना गर्ने भएको छ । महिलातर्फ बिहीबार भएको विभागीय डर्बी सेमिफाइनलमा एपिएफले त्रिभुवन आर्मीलाई हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो । अर्को खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई हरायो । 

दोस्रो र तेस्रो संस्करण विजेता एपिएफले आर्मीलाई ३–२ को सेटमा हराएको हो । पहिलो र दोस्रो सेट आर्मीले १९–२५ र २०–२५ ले आफ्नो पक्षमा राखेको थियो । तर, त्यसपछिका तीन सेटमा एपिएफले उत्कृष्ट पुनरागमन गर्दै फाइनलमा स्थान पक्का पा¥यो । दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै एपिएफले अन्तिम तीन सेट २५–१३, २५–१६ र १५–१३ ले आफ्नो पक्षमा राख्यो । पाँचौँ तथा अन्तिम सेटमा आर्मीले ७–२ को बलियो अग्रता लिएको थियो, तर अग्रता जोगाउन नसक्दा फाइनलमा स्थान बनाउन सकेन । एपिएफकी सरस्वती चौधरी म्यान अफ दी म्याच भइन् ।

 न्यु डाइमन्डको सहज जित
दोस्रो सेमिफाइनलमा न्यु डाइमन्डले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसविरुद्धको खेलमा न्यु डायमन्ड २५–१९, २५–१८ र २५–१८ ले विजयी भयो । खेलमा डायमन्डकी सलिना बुढामगर टाइगर अफ दी म्याच घोषित भइन् । 

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ समूह चरणको अन्तिम खेलमा गण्डकीले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै समूह उपविजेताका रूपमा अन्तिम चारको स्थान पक्का गरेको छ । प्रतिस्पर्धात्मक पहिलो सेटमा २५–२० ले पछि परेको गण्डकीले त्यसपछिको दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१७ आफ्नो पक्षमा पारेको थियो । 

खेलमा १–२ सेटले अग्रता लिएको गण्डकीले चौथो सेट २१–२५ ले गुमायो । खेलको निर्णायक अन्तिम सेटमा ६–१५ ले आर्मीले आफ्नो पक्षमा पारे पनि अंकका आधारमा आर्मी प्रतियोगिताबाट बाहिरियो । यसअघि गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा र हेल्प नेपालले आर्मीलाई सोझो सेटमा पराजित गरेका थिए ।
 

सुझावित समाचार