काठमाडौं महानगरले ६ महिनामा उठायाे पाँच अर्ब राजस्व

बुधबार, ३ माघ, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक (६ महिना) अवधिमा रु. चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु. चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो।

अघिल्लो आव र चालू आवको सोही अवधिको तुलना गर्दा यस वर्ष रु. ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले राससलाई जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी बहाल करमा रु. एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ।  

त्यस्तै, सम्पत्ति करमा रु. ६७ करोड १७ लाख २० हजार असुल गरेको हो। विभागका अनुसार पछिल्लो समय करदाताको संख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो। 

कामपाले चालू आवका लागि करिब रु. १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ। गत आवमा भने रु. नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो।

विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरूप कर असुल हुन नसके पनि चालू आवमा लक्ष्यमा पुग्न समस्या नहुने कामपाको भनाइ छ। 

सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए। चालू आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ थियो।

यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ। 

पछिल्लो समय कामपाले राजस्व संकलनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुलउपर गर्न सहज भएको काफ्लेले बताए। 

कामपाले गत फागुन ३ मा ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेसँगै बहाल करबापतको रकम संकलन हुन थालेको जनाइएको छ। निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घरखाली गराउँदा दुवैबारे सूचना सात दिनभित्र वडा कार्यलयमा दिनुपर्नेछ।

लिखित सम्झौताको एक प्रति सम्बन्धित वडा कार्यालय, एक प्रति घरधनी र एक प्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ। सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे समेत उल्लेख गरेको हुनुपर्नेछ। 
 

सुझावित समाचार