- नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भन्छन्- 'अहिले बजार बढ्नुमा लगानीकर्ताको उच्च मनोबल नै मुख्य कारण हो'
- सेयर विश्लेषक रवीन्द्र भट्टराई भन्छन्- 'सेयर बजार बढ्नुको मुख्य कारण ब्याजदर घट्नु नै हो'
- शिथिल सेयर बजारमा केही समययता देखिएका सकारात्मक सूचकले डिम्याट खाता भएका ६० लाख ५० हजार व्यक्तिगत र ६७ सय संस्थागत लगानीकर्ता आशावादी
२ माघ ०७८ मा ६९ अंकले बढेर नेप्से सूचक २९२६.७४ विन्दुमा पुगेको थियो । सो दिन ९ अर्बको कारोबार भएको थियो । निरन्तर घटिरहेको बजार ३६ कारोबार दिनअघि अर्थात् ६ मंसिरमा ९१ करोड ९० लाखसम्म खुम्चिएको थियो । त्यसयता लय समाउन खोजेको बजारमा मंगलबार आठ अर्ब दुई करोडको कारोबार हुँदा सूचक २१७५.१७ मा बन्द भएको छ ।
सेयर बजारमा करिब दुई वर्षयताकै उच्च अंकको कारोबार भएको छ । लामो समयदेखि सुस्त सेयर बजारमा मंगलबार आठ अर्ब दुई करोड ३८ लाख रुपैयाँको कारोबार भयो । आइतबारको तुलनामा नेप्से परिसूचक ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुग्दा सेयर कारोबार तीन अर्बले बढेको हो । आइतबार पाँच अर्ब चार करोड रुपैयाँको सेयर कारोबार भएको थियो । यसअघि २० माघ ०७८ मा आठ अर्ब ६९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो । त्यतिवेला नेप्से २८७६.७४ विन्दुमा थियो ।
मंगलबार र २० माघ ०७८ को कारोबार रकम करिब बराबर हुँदा नेप्से सूचकमा भने धेरै अन्तर छ । अर्को भिन्नता भनेको नेप्से बढ्ने क्रममा आठ अर्बको कारोबार भएको छ भने २० माघ ०७८ मा नेप्से ओरालो लाग्ने क्रममा भएको थियो । त्यतिवेला नेप्से क्रमशः घट्ने क्रममा थियो, अहिले भने नेप्से बढ्ने क्रममा कारोबार ह्वात्तै बढेको छ । यो करिब ६ महिनायताकै उच्च विन्दु हो । अब यसले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने मुख्य चासो छ ।
‘बैंकको ब्याजदर घटेको छ, यसको अर्थ पैसा सस्तिएको हो । पैसा सस्तिँदा ऋण लिएर लगानी गर्ने पनि बढेका छन्, अर्कोतर्फ जसले बैंक तथा वित्तीय संस्थामा बचत गरेका थिए, उनीहरूले पनि ब्याजदर कम भएका कारण पैसा झिकेर सेयर बजारमा लगाएका हुन सक्छन्,’ सेयर विश्लेषक रवीन्द्र भट्टराई भन्छन्, ‘बजारमा सकारात्मक समाचार आइरहँदा त्यसले थप लगानी र लगानीकर्तालाई भित्र्याउँछ, यसको अर्थ बजार अझै बढ्दै जाने देखिन्छ ।’ राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत लिएको खुकुलो नीति, अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको उत्साहप्रद सूचक, आन्तरिक अर्थतन्त्रमा आएको सुधारलगायतले लगानीकर्ताको मनोबल बढेको र सेयर बजारले समेत बढ्दो ट्रेन्ड समातेको उनको विश्लेषण छ ।
मंगलबार सबैभन्दा बढी सोनापुर मिनरल्स एन्ड आयलको २८ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर २.७८ प्रतिशतले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । प्रतिकित्ता पाँच सय ४५ रुपैयाँबाट कारोबार सुरु भएर पाँच सय ७५ सम्म पुगेकोमा अन्त्यमा पुनः केही घटेर पाँच सय ५४ रुपैयाँमा थामिएको छ । त्यस्तै, दोस्रो ठूलो कारोबार गर्ने कम्पनीमा निफ्रा छ । यो कम्पनीको २३ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँ बढेर दुई सय ४५ रुपैयाँ पुगेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, हिमाल दोलखा हाइड्रो पावर कम्पनी, अपी पावर कम्पनीको सेयरमा १६ करोडदेखि २१ करोड १३ लाख रुपैयाँसम्मको कारोबार भएको छ । मंगलबार धितोपत्र र ऋणपत्र गरी कुल तीन सय तीन कम्पनीको दुई करोड ३३ लाख कित्ता सेयर किनबेच भयो ।
अहिले बजार बढ्नुमा लगानीकर्ताको उच्च मनोबल नै मुख्य कारण रहेको नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए । उनका अनुसार लामो समयदेखि लगानीकर्ता बजारप्रति नकारात्मक थिए, नीतिहरू लगानीमैत्री थिएनन्, अहिले बैंकको ब्याजदर घटेको र मौद्रिक नीतिले सेयर धितो कर्जादेखि जोखिम भारसमेतलाई खुकुलो बनाइदिएपछि लगानीकर्तामा मनोबल बढेको हो । ‘लामो समयसम्म बजार अस्थिर रहँदा लगानी गर्ने अवस्था थिएन, अहिले अर्थतन्त्रमा सुधार आएको संकेत छ, ब्याजदर घटेको छ, मौद्रिक नीति पहिलाबाट केही खुकुलो भएको हुँदा लगानीकर्ता उत्साहित बनेका छन्,’ उनले भने ।
लगानीकर्ता सागर ढकाल अर्थतन्त्रका थुप्रै सूचक सकारात्मक देखिएकाले त्यसको प्रभाव सेयर बजारमा पनि देखिएको बताउँछन् । अहिले आमलगानीकर्ताको मनोबल उच्च देखिनुका कारण समग्र अर्थतन्त्रका सूचक, सेयर धितो सीमामा केही सुधार नै रहेको उनले बताए । उनले भने, ‘अहिले निराश हुनुपर्ने कुनै कारण नै छैन, लामो समय बजार घट्यो, अब बजार एउटा ट्रेन्डिङ प्वाइन्टमा आइपुगेको छ, अझ बढ्दै जाने देखिन्छ ।’
मंगलबार ब्रोकर नासा सेक्युरिटिजले सर्वाधिक सेयर किनबेच गरेको छ । यस ब्रोकरले एक अर्ब सात करोड रुपैयाँको सेयर किनबेच गरेको छ । त्यस्तै, भिजन सेक्युरिटिजले ६३ करोड ३६ लाख रुपैयाँको कारोबार गरेको छ । इप्पेरियल सेक्युरिटिजले ६२ करोड २० लाख र अनलाइन सेक्युरिटिजले ५१ करोड ९१ लाख रुपैयाँको सेयर किनबेच गरेको छ ।
१२ कम्पनीको सेयर मूल्यमा सर्किट, अधिकांश जलविद्युत् कम्पनी
उच्च अंकले बढेको बजारमा १२ कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट लागेका अधिकांश कम्पनी जलविद्युत् क्षेत्रका छन् ।
जलविद्युत्का ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । जसमा बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन पावर पार्टनर, मकर जितुमाया सुरी हाइड्रो पावर, दिव्यश्वरी हाइड्रो पावर, घलेम्दी हाइड्रो पावर, अपर तामाकोशी हाइड्रो पावर, न्यादी ग्रुप पावर छन् । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी, नेपाल वयेरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले सर्किट हानेका छन् । बढेको बजारमा पनि ज्योति विकास बैंक फन्डको करिब १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ । मिडसोलु हाइड्रो पावर, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनीको सेयर मूल्य तीन प्रतिशतभन्दा बढीले घटेका छन् ।
बैंकको ब्याजदर घट्नेदेखि अर्थतन्त्रका सकारात्मक सूचकले बजार बढायो : रवीन्द्र भट्टराई सेयर विश्लेषक
सेयर बजार बढ्नुको मुख्य कारण ब्याजदर घट्नु नै हो । बैंकहरूले माघ लागेपछि ब्याजदर थप घटाएको सूचना निकालेका छन् । ब्याजदर घट्दा बैंकको आधारदर र ऋणको ब्याजदर पनि घट्छ, यसर्थ ऋण सस्तो हुँदै जान्छ । ऋण लिएर लगानी गर्न सहज हुन्छ । यसले लगानीकर्ता आशावादी भएको हुनुपर्छ ।
अर्कोतर्फ, बैंकमा ब्याज कम भएपछि बचतबाट झिकेर सेयर बजारमा लगानी गर्ने पनि हुन्छन् । यस्ता कारण सेयर बजारमा कारोबार वृद्धि भएको हो । ब्याजदरका अलावा केन्द्रीय बैंकले लिएको लचिलो नीति र अर्थतन्त्रका सूचकमा आएका सुधारले पनि सेयर बजारमा उत्साह थपेको छ । बजार अझै बढ्दै जाने देखिन्छ ।
किनकि ऋणको स्पेस अझै धेरै बाँकी छ । बजार बढ्दै जाँदा सकारात्मक समाचार आउँछन्, त्यसो हुँदा कारोबारको आधार बढ्नु स्वाभाविक हो । यसले नयाँ लगानी र लगानीकर्ता भित्र्याउँछ ।
बजार बढ्दा पनि घट्दा पनि लगानीकर्ता सचेत हुनुपर्छ । साना, ठूला, नयाँ, पुराना सबै लगानीकर्ताले सुरक्षित भएर लगानी गर्नुपर्छ । सेयर बजारमा लगानी गर्दा बजारका आधारभूत कुरा, बजारको प्रक्रिया, औजार, अर्थतन्त्रका सूचकलगायतमा अध्ययन अनुसन्धान गर्नुपर्छ । बजारको ट्रेन्डमा आधारित भएर मात्रै लगानी गर्दा जोखिम हुन्छ ।