नेपाली जनता पछाडि फर्कन चाहँदैनन् : राष्ट्रपति

सोमबार, १ माघ, २०८०
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै संघीय संसदमा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गरेका छन्। 

माघी पर्वको उपलक्ष्यमा शीतलनिवासमा सोमबार आयोजित शुभकामना आदान–प्रदानमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सम्बोधन गर्दै समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्छौँ भन्ने प्रण गर्न आग्रह गरेका हुन्। 

उनले भने, ‘यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकारसम्पन्न बनाएको छ। यो बेजोड अधिकार दिइएकोमा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ। तर, यसको व्यावहारिक रूपमा पूर्ण कार्यान्वयन हुन बाँकी छ। जनतामा देखिएको निराशा अरू कारणले होइन, संविधान कार्यान्वयन नभएर हो। संविधान कार्यान्वयन गर्न छिटो कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गरौँ।’ 

उनले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पारे। ‘नेपाली जनताको चाहना मैले पनि बुझेको छु। नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन्। उनीहरूको चाहना अगाडि बढ्ने नै हो। त्यसैले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाईं–हामी सबै मिलेर आजको दिनमा प्रण गरौँ,’ उनले भने।

उनले माघी थारू र मगर समुदायका साथै सम्पूर्ण नेपालीको मौलिक पर्व भएको बताउँदै माघीले ऋतु परिवर्तनको समेत प्रतिनिधित्व गर्ने भएकाले विशेष महत्व रहेको बताए।

कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो। प्रधानमन्त्री भने काठमाडौंबाहिर जाने कार्यक्रम भएकाले यसअगाडि नै शुभकामना आदान–प्रदान गरेर फर्किएका थिए। 

सुझावित समाचार