कर्णाली सात विकेटले विजयी, गण्डकीकाे लगातार दोस्रो हार

आइतबार, २९ पुष, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ। आइतबार सिद्धार्थ रंगशालामा भएको खेलमा गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ३३.२ ओभरमा ७० बल बाँकी छँदै तीन विकेटको क्षतिमा एक सय २६ रन बनाउँदै पूरा गरेको हो।

कर्णालीको जितमा हिमांशु शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारी खेले। उनले पाँच चौका र दुई छक्का प्रहार गरेका थिए। यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले नटआउट १० रनको योगदान गरे।

बलिङतर्फ गण्डकीका अंकित न्यौपानेले दुई तथा तथा ओभर बलिङ गरेका विपिन खत्रीले सात मेडन राख्दै दुई रन खर्चेर एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा नाै विकेट गुमाउँदै एक सय २२ रनको सामान्य योगफल बनाएको थियो। गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक अंक जोडे। अगाडिका पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा छैटौँ नम्बरमा आएका ब्याट्सम्यान अश्वानी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके। चन्द्र पौडेल १४ र अंकित न्यौपाने दुई रनमा अविजित रहे।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए। यस्तै, प्रकाश जैशी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए। 

गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ। उसले शनिबार लुम्बिनी प्रदेशसँग चार विकेटको हार भोगेको थियो। प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौंबाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ वटा खेल हुँदै छन्। सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
 

See More On

सुझावित समाचार