जुनुमाया छन्त्याल र विद्या राईले २६औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन्। नेपाल प्रहरीका दुवैले क्लिन एन्ड जर्कमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्।
प्रतियोगिताको सिनियर महिला ७१ केजीमा जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजी भार बहन गर्दै ९२ केजीको कीर्तिमानमा सुधार गरेकी हुन्। जुनुमायाले क्लिन एन्ड जर्कमा ९३ केजीसहित स्न्याचमा ७३ केजी गरी जम्मा १६६ केजी भार बहन गर्दै स्वर्ण जितिन्।
सिनियर महिलाको ८७ केजीमाथि विद्याले क्लिन एन्ड जर्कमा रेकर्ड राख्ने क्रममा ९२ केजी वजन उठाइन्। यसअघि उनकै नाममा ९१ केजीको कीर्तिमान थियो। क्लिन जर्कमा ९२ केजीसहित स्न्याचमा ६५ केजी गरी कुल १५७ केजी तौल उठाउँदै विद्याले स्वर्ण चुमिन्।
प्रतियोगिताको पहिलो दिन मंगलबार कृष्णकला विष्ट र दिलीप यादवले राष्ट्रिय कीर्तिमान बनाएका थिए। दुवै कीर्तिमानधारी पनि प्रहरीकै हुन्।
नेपाल भारोत्तोलन संघद्वारा आयोजित प्रतियोगिताको सिनियर महिला ८७ केजीमुनि प्रहरीकी जयन्ती श्रेष्ठ पहिलो भइन्। ७६ केजीमा प्रहरीकी पूजा कुमाल र ८१ केजीमुनि प्रहरीकै तारादेवी पुन पहिलो भए। युथको महिला ७१ केजीमा ललितपुरकी खुसी चौधरी तथा ८१ केजीमुनि कास्कीकी सिन्जल गुरुङले पहिलो स्थान हात पारे।
गुरुङलाई सिनियरमा स्वर्ण
सिनियर पुरुषको १०२ केजीमा सन्देश गुरुङ, १०९ केजीमुनि विशालसिंह विष्ट र १०९ केजीमाथि राजीव महर्जनले शीर्ष स्थान हात पारे। स्वर्ण विजेताहरू प्रहरीका हुन्। जुनियर पुरुषको १०२ केजीमा एपिएफका सञ्जय यादव तथा १०९ केजीमुनि एपिएफकै रोजन तुलाधर पहिलो भए।
प्रतियोगिताको पुरुषमा प्रहरीका प्रकाश केसी तथा महिलामा कीर्तिमानधारी कृष्णकला उत्कृष्ट खेलाडी घोषित भएका छन्।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलगायतले पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा एक सय ६४ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जनाएका छन्।