महिनावारी हुँदा ‘छुईगोठ’मा बस्न छोडे पातारासीका महिला

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

जुम्लाको पातारासी गाउँपालिका– ४ का महिला महिनावारी भएको अवस्थामा घरमै बस्न थालेका छन्। सोही वडा लाम्रीगाउँकी १४ वर्षीया निर्मला बुढाले महिनावारी भएको अवस्थामा घरबाहिर बस्दा प्रजनन स्वास्थ्य र सुरक्षामा चुनौती हुने कुरा थाहा पाएदेखि घरभित्रै बस्ने गरेको बताइन्। 

त्यस्तै, पातारासी– ४ तिर्खु गाउँकी ४२ वर्षीया विस्नकली बोहराले पनि ६–७ वर्षदेखि महिनावारी भएको वेला घरमै बस्दै आएको सुनाइन्। महिनावारी एक नियमित प्रक्रिया भएको र छुट्टै गोठमा बस्नुपर्ने, घरमा जान नपाइने गलत सोच र सामाजिक कुसंस्कार भएको उनको बुझाइ छ। 

गाउँबस्तीमा पालिकाको महिला तथा बालबालिका शाखा, सर्वाेदय नेपाल, वर्ल्डभिजन किर्डाक नेपाललगायतका निकायले गाउँका विभिन्न क्लब, महिला समूह, विद्यालय र किशोरीसँग सचेतनाका कार्यक्रममा महिनावारी भएको अवस्थामा घरबाहिर बस्दा प्रजनन स्वास्थ्य र सुरक्षामा  चुनौती थपिएको बुझेसँगै यहाँका महिला बहिनावारी हुँदा  घरभित्रै बस्न थालेका हुन्। 

पातारासीका तीन गाउँ छुईगोठमुक्त घोषणा

पातारासी गाउँपालिका– ४ वडालाई छुईगोठमुक्त घोषणा गरिएको छ। बुधबार उक्त वडाका लाम्री, तिर्खु र डिल्लीचौर गाउँ छुईगोठमुक्त घोषणा गरिएको हो। अनुगमनपछि सबै सूचक पूरा भएसँगै वडालाई छुईगोठमुक्त घोषणा गरिएको हो।

महिनावारी हुने उमेर समूहका किशोरी र महिला सबै महिनावारी हुँदा घरमै बस्ने गरेको सुनिश्चित भएपछि वडालाई छुईगोठमुक्त घोषणा गरिएको वडाध्यक्ष कालीबहादुर बुढाले जानकारी दिए। 

उनले भने, ‘गाउँमा अहिले छुईप्रथा मान्ने कुनै घर छैन। सबै महिला र किशोरी घरमै बस्दै आएका छन्। धामीझाँक्रीलाई पटकपटक अभिमुखीकरण गर्दै आएका पनि छौँ। आगामी दिनमा घोषणा कार्यान्वयनमा समस्या ल्याउनेलाई कारबाही गरिनेछ।’

४ नम्बर वडाका तिर्खु, लाम्री र डिल्लीचौ गरी तीन गाउँमा कुल पाँच सय घरधुरी छन्। दुई हजार एक सय ९५ जनसंख्या छ। जसमा महिला एक हजार ७० जना र पुरुष एक हजार एक सय २५ जना रहेको वडाध्यक्ष बढाले बताए। 

उनले भने, ‘पातारासीका नागरिक शिक्षाकै अभावले पछि परेका छन्। सामाजिक सशक्तीकरण हाम्रो प्राथमिकतमा छ। छुईप्रथा समाज रूपान्तरणको बाधक पनि बनेको छ। घोषणा कार्यन्वयनमा सबै निकायले ध्यान दिन जरुरी छ।’

छुईगोठमुक्त घोषणाले महिलालाई हरेक हिसाबले सुरक्षित बनाउने र कार्यबोझ पनि कम हुने उनको अपेक्षा छ। पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले छुईगोठमुक्त वडा घोषणाका लागि विभिन्न सूचक पूरा गर्न गाउँ–गाउँ र विद्यालयमा सचेतनाका कार्यक्रम गरिएको बताइन्।

सर्वाेदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले छुईप्रथा महिला सशक्तीकरणको मुख्य बाधक बनेको बताए। 
 

सुझावित समाचार