नेप्से परिसूचक एक प्रतिशतले बढेको छ। साताको मंगलबार दिन २०.६२ अंकले बढेर दुई हजार ८०.१२ विन्दुमा आइपुगेको छ।
साताको पहिलो कारोबार बजार घटेको भए पनि सोमबार र मंगलबार नेप्से सूचक हरियाली बनेको हो। पुस मसान्तको समयमा पनि सेयर बजार हरियाली बनेपछि लगानीकर्ता झनै उत्साहित बनेका छन्।
विशेषगरी यो समयमा चालू आर्थिक वर्षको दोस्रो त्रैमास सकिन केही दिन बाँकी छ। सरकारलाई कर बुझाउन लगानीकर्ताले केही रकमको जोहो गर्ने वेला हो। उनीहरूले धितोपत्र बिक्री गरेर पनि रकम जुटाउने गर्दै आएका छन्। जसकारण त्रैमासको अन्त्यमा नेप्से सूचकमा केही दबाब पर्ने गरेको प्रायः देखिन्छ। तर, अहिले भने यसको ठीक उल्टो भएको छ।
बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ। कर्जा प्रवाह नहुँदा आगामी दिनमा ब्याजदर झनै घट्ने अनुमान लगानीकर्ताको मनोविज्ञान देखिएको छ। जसको कारणले पनि नेप्से सूचक यो दबाबको समयमा पनि उत्साहित छ।
११ वटा कम्पनीको सेयर मूल्यमा सर्किट
यस दिन ११ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ। सर्किट मूल्यमा कारोबार हुने कम्पनीमा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त वित्तीय संस्था, सप्तकोसी डेभलपमेन्ट बैंंक, अपर स्यांगे हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, तेह्रथुम पावर कम्पनी र ग्रिन डेभलपमेन्ट बैंक छन्। कम्पनीको सेयरमा १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको हो।
धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका तीन सय नाै कम्पनीको एक करोड ७९ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ११ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ।
सर्वाधिक कारोबार हुने कम्पनीमा सोनापुर मिनरल्स एन्ड आयल छ। कम्पनीको २१ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। त्यस्तै, निफ्राको १९ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ। सोल्टी होटेल, माउन्टेन इनर्जी नेपाल र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड रुपैयाँदेखि १७ करोड ५३ लाख रुपैयाँसम्मको कारोबार भएको छ।
बढेको बजारमा पनि धौलागिरि लघुवित्त वित्तीय संस्था, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सुपरमादी हाइड्रोपावर र मान्डु हाइड्रोपावर कम्पनीको सेयर ५.२८ प्रतिशतदेखि ८.१९ प्रतिशतसम्मले घटेको छ।