सभामुखसँग आयरल्यान्डको माथिल्लो सभाका अध्यक्षको भेट

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरे र आयरल्यान्डको माथिल्लो सभा साअनड एरेनका अध्यक्ष  जेरी बट्टिमरबीच मंगलबार शिष्टाचार भेट भएको छ । 

नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरसँग सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान–प्रदानलगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । 

भेटमा सभामुख घिमिरेले सन् १९९९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात् नेपाल र आयरल्यान्डबीच मैत्रीपूर्ण एवं सौहार्दपूर्ण सम्बन्ध रहिआएकोमा खुसी व्यक्त गरे । 

उनले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता साझा प्रतिबद्धताहरू रहेको चर्चा गर्दैै आयरल्यान्डको संसदमा आयरल्यान्ड–नेपाल संसदीय मैत्री समूह गठन भएकोमा पनि खुसी व्यक्त गरे । 

उनले गत वर्षको आफ्नो आयरल्यान्ड भ्रमणको स्मरण गर्दै त्यसक्रममा दुई देशबीच संसदीय आदान–प्रदान घनीभूत बनाउने एवं संसदीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल भएको बताए ।

उनले सन् २०१५ मा नयाँ संविधान जारी भएपश्चात् नेपालले लोकतान्त्रिक गणतन्त्र, संघीयता, समानुपातिक समावेशीकरण, धर्मनिरपेक्षता, जनताका मौलिक अधिकार, मानवअधिकार, कानुनको शासन, सामाजिक न्यायलगायतका लोकतन्त्रका मूल्य र मान्यताहरूलाई आत्मसात् गरेको चर्चा गरे ।

भेटमा आयरल्यान्डका अध्यक्ष पनि सभामुख घिमिरेको भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदान–प्रदानमा देखाएको चासो सम्बोधन गर्न आयरल्यान्डको शिक्षा मन्त्रालय र संसद्को शिक्षा समितिले काम गरिरहेको बताए । 

नेपालको संविधानले लोकतन्त्रलाई संस्थागत गर्न र विकासमा सहयोग गर्ने अपेक्षा लिएको बताउँदै भने, ‘दुवै मुलुकमा संसदीय मैत्री समूह निर्माण भएका छन् । तिनले संसदीय आदान–प्रदानका लागि सहयोग गर्ने अपेक्षा लिएको छु ।’

उनले    नेपालले मानव अधिकार र लैंगिक तथा यौनिक अल्पसंख्यकका क्षेत्रमा गरेका प्रगति र शान्तिका क्षेत्रमा गरेका प्रयास विश्वकै लागि उदाहरणीय रहेको बताए । 

सुझावित समाचार