सोह्रौँ आवधिक योजनाका आयाम

सोह्रौँ योजनालाई अन्तिम रूप दिँदा विगतमा के–कस्ता कारणले योजना सफल वा असफल रहे भन्ने दृष्टिकोणबाट विमर्श गर्न बिर्सिनुहुँदैन

मंगलबार, २४ पुष, २०८०
डिजिटल संस्करण

नेपालले योजनाबद्ध विकास ढाँचा अवलम्बन गरेको करिब सात दशक हुँदै छ । यसबीच पाँचवटा त्रिवर्षीय र दशवटा पाँच वर्षीय योजना कार्यान्वयन भए । चालू आर्थिक वर्षमा पन्ध्रौँ योजना समापन भई सोह्रौँ योजना कार्यान्वयन हुने क्रममा छ । सुरुका तीन योजना पूर्वाधार संरचनामा केन्द्रित थिए । चौथो योजनाबाट एकीकृत ग्रामीण विकासलाई प्रमुख रणनीतिक प्राथमिकतामा राखियो । त्यसपछि छैटौँ र सातौँ योजना आधारभूत आवश्यकता परिपूर्ति, आठौँबाट दिगो विकास र गरिबी निवारण तथा नवौँ सामाजिक मूल प्रवाहीकरणमा केन्द्रित रहे ।

दसौँबाट गरिबी निवारणको एकल उद्देश्य पूरा गर्न सुशासनको रणनीति अवलम्बन गरियो । त्यसपछिका चार त्रिवर्षीय योजनाले दसौँ योजनालाई नै आधार मानेर कार्यक्रम निर्धारण गरे । पन्ध्रौँ योजना संघीयता कार्यान्वयनपछिको पूर्ण योजना थियो, जसले विक्रमको अर्को शताब्दीमा पुुग्दाको राष्ट्रिय अभीष्टसहित समृद्धिको आधार बनाउने दृष्टिकोण राख्यो । पन्ध्रवटा योजनालाई हेर्दा योजनाको प्रवृत्ति राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय सन्दर्भबाट निर्दिष्ट देखिन्छन् । यस दृष्टिकोणमा आवधिक योजना ठिकै थिए भन्ने निष्कर्ष निकाल्न सकिन्छ । 

तर, उपलब्धिका दृष्टिकोणबाट विश्लेषण गर्दा आठौँ योजनाबाहेक कुनै पनि योजनाले आर्थिक वृद्धिको लक्ष्यसम्म पूरा गर्न सकेका छैनन् । आठौँ योजनाले ५.१ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेकामा ४.९ प्रतिशत आर्थिक वृद्धि गरी लक्ष्यको निकै समीपमा रह्यो । अन्य योजना समष्टिगत र क्षेत्रगत लक्ष्य उपलब्धिमा निकै टाढा रहे । आठौँ योजना एक प्रकारको राजनीतिक व्यवस्थाबाट अर्को व्यवस्थामा प्रवेश गरेपछि तर्जुमा भएको थियो । यसले पहिलो निर्वाचित सरकारका नीति दृष्टिकोणलाई पूर्ण रूपमा लिएको थियो, सामाजिक सन्दर्भलाई समेटेको थियो र निजी क्षेत्रको विश्वास पनि आर्जन गरेको थियो । यस योजनाले पहिलो चरणको सुधार कार्यक्रमलाई अघि सारेको थियो ।

सोह्रौँ योजना निर्माण गर्दै गर्दा कसरी भविष्यप्रति आमनागरिकमा आशा जगाउने तथा रोजगारी र उत्पादनलाई केन्द्रबिन्दुमा राखेर त्यसको नेतृत्वदायी क्षेत्र कसरी पहिचान गर्ने भन्नेमा ध्यान केन्द्रित गर्नु जरुरी छ 

परिमाणतः निजी क्षेत्रको सम्भावनाको उपयोग हुन पुुग्यो । उदारीकरणको लाभ अर्थतन्त्रमा भित्रिन गई औद्योगिक उत्पादनले गार्हस्थ उत्पादनको १३ प्रतिशत हिस्सा ओगट्न पुुग्यो । त्यसपछिका कुनै पनि योजना यही योजनाको नीति लाभभन्दा माथि उठ्न सकेका छैनन् । कतिपय क्षेत्रमा आठौँ योजनाको उपलब्धि संरक्षणसमेत हुन सकेको छैन । यसर्थ सोह्रौँ योजनालाई अन्तिम रूप दिँदा विगतमा केकस्ता कारणले योजना सफल वा असफल रहे भन्ने दृष्टिकोणबाट हेर्न बिर्सिनुहुँदैन ।

पन्धौँ योजना दीर्घकालीन राष्ट्रिय अभीष्ट ‘समृद्ध नेपाल सुखी नेपाली’ पूरा गर्ने आधार सिर्जना गर्ने गरी घोषणा गरिएको थियो । जसका लागि औसत आर्थिक वृद्धि ९.६ प्रतिशत हासिल गर्ने र गरिबीको रेखामुनिका जनसंख्या ९.५ प्रतिशतमा झार्ने भनिएको थियो, जुन उपलब्धिका सापेक्षमा लक्ष्यभन्द निकै टाढा छन् । सामाजिक र पूर्वाधार सूचकमा केही सफलता हासिल भए पनि आर्थिक सूचक नै योजनाको महत्वपूर्ण पक्ष हो ।

उत्पादन, रोजगारी, लगानीजस्ता पक्षमा सुधार नआए अन्य उपलब्धि दिगो हुन सक्दैनन् । आर्थिक पक्ष मात्र कमजोर देखिएको होइन, सुशासनका क्षेत्रमा देखिएको अवस्था पनि निकै चिन्ताजनक छ । शिक्षा र स्वास्थ्यमा संरचनात्मक र परिमाणात्मक प्रगति देखिए पनि राष्ट्रिय स्वास्थ्य प्रणाली कति कमजोर छ भन्ने कुरा कोभिड महामारीमा देखियो । स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमै छैन । त्यस्तै शिक्षा सीपयुक्त मात्र नभएको होइन, यसले वर्ग विभाजकको काम पनि गर्दै छ । यसले राष्ट्रिय विकास र मानव पुँजी निर्माणको काम गरेको छैन । समाज, व्यक्ति र राष्ट्रलाई भार पर्ने शिक्षाले गम्भीर भविष्यको संकेत गरेको छ । 

आवधिक रूपमा समीक्षा र कार्यान्वयन सहजीकरणको पद्धति बसाउन सकियो भने मात्र भनिएजसरी सोह्रौँ योजना ‘आउट अफ बक्स’ हुन सक्छ र यो सामाजिक वास्तविकतासँग नजिक पनि रहन्छ

आवधिक योजना कुनै प्राज्ञिक विषय होइन, न राष्ट्रिय अभीष्टलाई विनाआधार प्रस्तुत गर्ने विधि हो । योजनालाई वास्तविक र कार्यान्वयनयोग्य बनाउन यसले सामाजिक वास्तविकतालाई टिप्न सक्नुपर्छ, आन्तरिक क्षमता र सम्भावना आकलन गर्न सक्नुपर्छ । लक्ष्यलाई उपलब्धिमा पुर्याउन नतिजामूलक खाका कोर्न सक्नुपर्छ र समयबद्ध रूपमा त्यसलाई अनुवाद गर्ने प्रणाली निर्माण गर्ने प्राविधिक क्षमता राख्नुपर्छ । योजना राष्ट्रिय अनुशासनको पद्धति हो । लक्ष्य प्राप्त गर्न रणनीति निर्माण, प्राथमिकीकरण र निजी क्षेत्र परिचालन गर्ने स्पष्ट दृष्टिकोण चाहिन्छ । अर्थतन्त्रका क्षेत्रबीचको अन्तरआबद्धता निर्माण गर्न सक्नुपर्छ । राष्ट्रिय प्राथमिकतामा सबैलाई अन्तरबोध गराउनुुपर्छ । यसो नभए योजना अपेक्षाको सूचीभन्दा माथि पुुग्दैन । 

मुलुकको अहिलेको प्रमुख–प्रमुख चुनौती भनेको रोजगारी सिर्जना र उत्पादन वृद्धि हो । अर्को शब्दमा भन्नुपर्दा आशा निर्माण हो । युवाहरूले रोजगारी चाहिरहेका छन् भने लगानीकर्ताले लगानीको वातावरण चाहिरहेका छन् । लगानीको वातावरण बनाउन नसकिए रोजगारी सिर्जना हुँदैन । भविष्य सुरक्षित नभएको अवस्थामा श्रम तथा पुँजी बाहिरिन्छ । यो क्रम बढ्दै जाँदा राष्ट्र सामथ्र्यबाट बाहिरन्छ र राज्यप्रतिको विश्वास र नागरिक तहमा राष्ट्रिय गर्वबोध हुँदैन । यसर्थ सोह्रौँ योजना निर्माणको नीतिशिल्प कसरी भविष्यप्रति आमनागरिकमा आशा जगाउने, अझ भनौँ भविष्य निर्माण गर्ने भन्नेमा आत्मैदेखि संवेदनशील बन्नुपर्छ । सोह्राैँ योजनाले राम्ररी मार्गदर्शन गर्न नसकेमा प्रदेशहरूले तर्जुमा गर्दै गरेको दोस्रो आवधिक योजना पनि अलमलिनेछन् । 

केन्द्रबिन्दुमा रोजगारी र उत्पादनलाई राखेर त्यसको नेतृत्वदायी क्षेत्र पहिचान गर्नु योजनाको पहिलो काम हुनुपर्छ । कुनै पनि मुलुकको अर्थतन्त्रका खास सम्भावना क्षेत्र हुन्छन्, त्यसैको व्यवस्थापन गरेर नै उत्पादन र रोजगारी विस्तार गर्न सकिन हो । साठीको दशकमा भारतले जुट, चिया र कृषि उत्पादनबाट विकास यात्राको जग बसाएको थियो । सिंगापुरसँग प्राकृतिक साधन थिएन, मानव पुँजी निर्माण र उपयोगको दृष्टिकोण लिएको थियो ।

दक्षिण कोरिया, मलेसियाका पनि यस्तै उदाहरण छन् । नेतृत्वदायी क्षेत्र पहिचानमा प्राविधिक दक्षता र तथ्यपरक जानकारी चाहिन्छ । नेतृत्वदायी क्षेत्रको निर्धारणपछि स्रोतसाधन परिचालन यसैमा केन्द्रित गर्नुपर्छ । धेरै प्राथमिकताले साधन छरिन्छ र उपलब्धि उम्किन्छ । नेपालको आर्थिक विकासका नेतृत्वदायी क्षेत्र कृषि पहिलो, जल संसाधन दोस्रो र पर्यटन तेस्रो हुन् । कृषि उत्पादनले खाद्य सुरक्षा दिन्छ, निर्यात प्रवद्र्धन गर्छ र यो रोजगारी सिर्जनाको ठूलो आधार पनि बन्न सक्छ । लाखौँ हेक्टर उपयोगविहीन भूमिले यसैको संकेत गर्छ । 

जलसाधनको बहुपक्षीय उपयोग (विद्युत्, खानेपानी उद्योग, जलाधार संरक्षण, वातावरणीय सन्तुलन, घरायसी उपयोग, मनोरञ्जन र केही हदमा यातायात) ले समृद्धि दिन्छ । यो उत्पादनका अन्य चरहरूलाई क्रियाशील गराई रोजागरी सिर्जना गर्ने बृहत् सम्भावनायुक्त क्षेत्र हो । यो निर्यातमूलक व्यवसाय र बाह्य समाजमा नेपालको रणनीतिक उपस्थिति गराउने सम्भावना बोक्ने क्षेत्र हो । तेस्रो क्षेत्र पर्यटनले नेपालको समृद्धिलाई दिगो बनाउने सम्भावना बोकेको छ । पर्यटन आयआर्जन, पहिचान विस्तार र सम्बन्ध सुदृढीकरणको आधार हो । यसबाट घरपरिवार तहदेखि ठूला पर्यटन व्यवसायीसम्मले समान रूपमा व्यवसाय विस्तार गर्न सक्छन् । यसो गर्न नेपालको अवस्थिति, पर्यटन क्षेत्रमा नेपालको विशिष्टताका क्षेत्रहरू र केही क्षेत्रमा पाएको एकाधिकारले पनि समर्थन गर्छ । छिमेकी उदीयमान अर्थतन्त्रले छाडेका ‘स्पेस’ लिने आधार पनि यही पर्यटन हो । 

नेतृत्वदायी क्षेत्रको पहिचान गरेपछि त्यसैलाई केन्द्र स्थानमा राखेर क्षेत्रगत ‘लाइन’हरू निर्माण गर्नुपर्छ । जस्तो कि कृषिमा सरकारले के गर्ने, निजी क्षेत्रले के–कति गर्ने, शिक्षा उपक्षेत्र, उद्योग उपक्षेत्र पूर्वाधार उपक्षेत्रले कृषिलाई कसरी सघाउने भन्नेबारे पहिल्यै निर्धारण गर्नु आवश्यक छ । त्यसैगरी पर्यटन र जलसाधन क्षेत्रको विकासका लागि उपक्षेत्रगत योगदान र पात्र पहिचान गर्नुपर्छ । लगानी प्रक्षेपण यही क्रममा गर्नुपर्छ । सरकार विकासको एकल प्रदाता होइन, निजी क्षेत्र विकासको इन्जिन हो । यो कुरा स्विकारेर लगानी ढाँचा निर्माण गर्नुपर्छ । तहगत सरकार र समुदायको भूमिका यही निर्धारण गर्नुपर्छ । 

यसलाई कठोर अनुुशासनमा लिइनुपर्छ । आवधिक रूपमा समीक्षा र कार्यान्वयन सहजीकरणको पद्धति बसाउनुपर्छ । अनि मात्र भनिएजसरी सोह्रौँ योजना ‘आउट अफ बक्स’ हुन सक्छ र यो सामाजिक वास्तविकतासँग नजिक रहन्छ । यस प्रकारको कार्यढाँचा निर्धारण भएन भने योजना राम्रो अपेक्षाको सूची त बन्छ, कार्यान्वयन हुँदैन । भुल्न नहुने कुरा के हो भने योजना तर्जुमामा उत्साह र कार्यान्वयनमा शिथिलताको स्थिति अब दोहोरिन दिनुहुँदैन । 
 

सुझावित समाचार