तारे होटेलमा नियमित कामदारका स्थानमा आउटसोर्सिङ र प्रशिक्षार्थी श्रमिक

आइतबार, २२ पुष, २०८०
डिजिटल संस्करण

स्थायी श्रमिक राख्दा दीर्घकालीन भार पर्ने, तर प्रशिक्षार्थी श्रमिकबाट उल्टै रकम पाइने भएपछि तारे होटेलको प्राथमिकतामा आउटसोर्सिङ

काठमाडाैंका तारे होटेलहरूले नयाँ श्रमिक नियुक्तिमा आउटसोर्सिङ, तालिमे र प्रशिक्षार्थीलाई प्राथमिकता दिन थालेका छन् । नियमित रोजगारीमा आफैँले नियुक्त गरेका श्रमिकलाई विभिन्न बहानामा हटाएर होटेलले आउटसोर्स, तालिमे र प्रशिक्षार्थी श्रमिक नियुक्त गर्न थालेको एक अध्ययनले देखाएको छ । त्यस्तै, अवकाशप्राप्त श्रमिकको पदमा पनि आउटसोर्सका श्रमिक नियुक्त गर्न थालेको पाइएको हो । श्रम ऐनले कुनै पनि कम्पनीको मुख्य कामबाहेक अन्य काममा मात्रै यस्ता आउटसोर्स र तालिमे कामदार राख्न पाउने व्यवस्था गरेको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले गरेको एक अध्ययनअनुसार काठमाडौंमा रहेका तारे होटेलले ऐनविपरीत आउटसोर्स र तालिमे श्रमिकबाट नै व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको छ । अध्ययनमा समेटिएका हायात होटेल, गोकर्ण रिसोर्ट, सोल्टी होटेल, र्‍याडिसन, हिमालयन, एभरेस्ट, मल्ललगायतका होटेलहरूले आउटसोर्स र तालिमे श्रमिक नियुक्त गरेको पाइएको छ । जिफन्टको तथ्यांकअनुसार होटेलले आधाभन्दा बढी श्रमिक आउटसोर्स र तालिमे राखेका छन् ।

त्यति मात्रै होइन, होटेलहरूले ऐनविपरीत श्रमिकलाई करारमा समेत राखेका छन् । आउटसोर्सका श्रमिकप्रति कम्पनीको उत्तरदायित्व कम हुने भएपछि होटेलहरूले श्रम ऐनविपरीत श्रमिक नियुक्त गर्न थालेको जिफन्टका उपाध्यक्ष जनक चौधरीले बताए । ऐनबमोजिम कुनै पनि प्रतिष्ठानले मुख्य काम वा सेवाका लागि आउटसोर्स गर्न पाइँदैन । त्यस्तै, उच्च प्रशासनिक पदबाहेकका अन्य पदमा करारमा समेत श्रमिक राख्न पाइँदैन ।

तर, होटेलहरूले श्रम ऐनको बेवास्ता गर्दै श्रमिक नियुक्त गरिरहेको उनले बताए । कुनै खास कामका लागि नियुक्त गरिने रोजगारीलाई कार्यरत रोजगारी भनिन्छ । प्रतिष्ठानले सो काम वा परियोजना समाप्त भएपछि श्रमिकको श्रम पनि सकिन्छ ।

त्यस्तै, प्रष्तिठान कुनै निश्चित समय अवधिका लागि दिने रोजगारीलाई समयगत रोजगारी भनिन्छ । तोकिएको समय अवधि सकिएपछि श्रमिकको श्रम पनि सकिन्छ । श्रमिकलाई एक महिनाको अवधिमा सात दिन वा सोभन्दा कम अवधिका लागि दिने रोजगारीलाई आकस्मिक रोजगारी भनिन्छ । यस्तै, एक हप्तामा ३५ घण्टा वा सोभन्दा कम समयमा काम सम्पन्न गर्ने गरी दिने रोजगारीलाई आंशिक रोजगारी भनिन्छ । यीबाहेकका रोजगारीलाई नियमित रोजगारी भनिन्छ । 

प्रशिक्षार्थीबाट उल्टै रकम असुल
तालिम र प्रशिक्षार्थी श्रमिकबाट होटेलले उल्टै रकम असुल्ने गरेको पाइएको छ । विभिन्न कलेजसँग सम्झौता गरी प्राक्टिकलका लागि होटेलले प्रशिक्षार्थी श्रमिक नियुक्त गरेका छन् । यसरी नियुक्त भएका श्रमिकबाट होटेलले उल्टै रकम असुल्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीमा जान सहज हुने भन्दै विद्यार्थीलाई प्रशिक्षार्थीका रूपमा श्रमिक राख्ने गरिएको छ । 

यस्तै, आउटसोर्स गरिएका श्रमिक पनि जोखिममा पर्ने गरेका छन् । रोजगारदाता कम्पनीले आउटसोर्स प्रत्येक वर्ष टेन्डर आह्वान गर्छ । प्रत्येक वर्ष फरक–फरक आउटसोर्स कम्पनीले टेन्डर पाउने हुँदा श्रमिकको रोजगारी सधैँ जोखिममा हुने जिफन्टका उपाध्यक्ष चौधरीले बताए । उनका अनुसार यसरी रोजगारी गुमाएको गुनासो लिएर जिफन्ट आउनेको संख्या बढ्दै गइरहेको छ ।

कुन होटेलमा कति आउटसोर्सका कर्मचारी ? 
जिफन्टको तथ्यांकअनुसार होटेल हायातमा कुल तीन सय ५० जना श्रमिक छन् । जसमध्ये एक सय ५० जना श्रमिक करारमा छन् भने आउटसोर्सबाट ५० जना नियुक्त गरिएका छन् । त्यसमा ३० जना सुरक्षा र ५० जना सरसफाइ क्षेत्रमा कार्यरत छन् । त्यस्तै, गोकर्ण रिसोर्टमा रहेका तीन सय श्रमिकमध्ये २६ जना आउटसोर्स गरिएका छन् । रिसोर्टले हाउसकिपिङ, सुपरभाइजर, प्रशासनिक कामका लागि करारमा श्रमिक नियुक्त गरेको छ । होटेलले नियमित काममा रहेका श्रमिकलाई १२ हजारभन्दा बढी रकम थपेर करारमा नियुक्ति दिएको श्रमिकले बताएका छन् ।  

होटेल मल्लमा रहेका एक सय ७० श्रमिकमध्ये ३० जना सुरक्षागार्ड आउटसोर्स गरिएका छन् । प्रशासनिक कामका लागि होटेलबाट तीनजना श्रमिक करारमा नियुक्त गरिएको छ । २० जना तालिमे श्रमिक छन् । नियमित रोजगारीमा कार्यरत श्रमिकको संख्या एक सय ३० छ । सोल्टी होटेलमा रहेका पाँच सयभन्दा बढी श्रमिकमध्ये सयजना आउटसोर्स गरिएका छन् । करारको सर्तमा दुई सयजना श्रमिक राखिएको छ । होटेलबाट सीधै राखिएका भने दुई सय श्रमिक छन् । 

होटेल र्‍याडिसन लाजिम्पाटमा कुल दुई सय श्रमिक नियमित रोजगारीमा छन् । सुरक्षा गार्डका लागि २५ जना श्रमिक आउटसोर्स गरिएको छ । ४५ जना करारमा, २० जना तालिमे र ६० जना प्रशिक्षार्थी छन् । होटेल अलफ्ट ठमेलमा दुई सय ६० जना श्रमिक छन् । जसमध्ये ५० जना आउटसोर्स गरिएको छ । होटेल एभरेस्टमा एक सय ७० जना श्रमिक रहेकामा ४५ जना मात्र नियमित रोजगारीमा छन् । १५ जना नियमित रोजगारीमा रहेकालाई अवकाश दिइएको छ । केएफसी दरबारमार्गमा तीन सयभन्दा बढी श्रमिक कार्यरत छन् । त्यसमध्ये दुई सय ८० जना आउटसोर्स गरिएको छ । नियमित रोजगारीमा ३० जना मात्रै छन् । 

सुझावित समाचार