अस्पतालको विवादले सर्लाहीमा बन्दको आह्वान प्रहरीको गोलीबाट एक युवाले गुमाए ज्यान

प्रहरी भन्छ– हवाई फायर गर्दा टाउकोमा लाग्यो गोली

शनिबार, २१ पुष, २०८०
डिजिटल संस्करण

सत्तापक्षीय पाँच दलले आह्वान गरेको बन्दका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर सर्लाहीको बरहथवामा एक युवाको ज्यान गएको छ । एक घाइते भएका छन् । बरहथवा नगरपालिका– ६ का ३२ वर्षीय जयशंकर साहको प्रहरीको गोली लागेर मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ । बरहथवा नगरपालिका– ८ का अभिषेक राम घाइते छन् । उनको खुट्टामा गोली लागेको छ ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले प्रदर्शनकारीले प्रहरीको हतियार खोस्न र बरहथवा नगरपालिकाका प्रमुखको घरमा आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले गोली चलाएको दाबी गरे । उनले हवाई फायर गर्दा आन्दोलनकारीको टाउकोमा गोली लागेको पनि जिकिर गरे । ‘आन्दोलनकारीले उग्र भएर प्रहरीको हतियार खोस्ने तथा बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालको घरमा आगजनी गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो,’ डिएसपी थारूले भने । 

नगर अस्पताल प्रदेशमातहत लैजानुपर्ने माग राख्दै आन्दोलन थालेका कांग्रेस, जसपा, लोसपा, जनमत पार्टीले शुक्रबार बरहथवा बजार बन्दको घोषणा गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा र तोडफोड गरेका थिए । प्रहरीले दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेर आन्दोलनकारीलाई त्यहाँबाट तितरबितर गरेको थियो । त्यसपछि आन्दोलनकारी नगर प्रमुख कटुवालको घरतर्फ अघि बढेका थिए । त्यही क्रममा प्रहरीले गोली चलाएको हो । आन्दोलनकारीको आगजनीबाट कटुवालको घरमा क्षति पुगेको छ । उनीहरूले केही निजी सवारीसाधनमा पनि आगजनी गरेका छन् । आगजनीबाट एउटा भारतीय नम्बर प्लेटको कार जलेर नष्ट भएको छ । 

यस्तो थियो झडपको कारण
बरहथवा नगरपालिका– ६ मा निर्माण सम्पन्न १५ शय्याको अस्पताललाई कसको मातहत राख्ने भन्ने विवाद नै शुक्रबारको झडपको मुख्य कारण हो । एमालेबाट निर्वाचित नगर कार्यपालिकाका सदस्यहरू अस्पताललाई नगरपालिकामातहत राख्नुपर्ने तथा कांग्रेससहित अन्य दलबाट निर्वाचित कार्यपालिका सदस्य प्रदेशमातहत लैजानुपर्ने अडानमा छन् । विवाद बढ्दै जाँदा कांग्रेससहित पाँच दलीय गठबन्धनले शुक्रबार बन्दको आह्वान गरेको थियो । 

बरहथवामा कर्फ्यु
स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको आकस्मिक बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८ बजेसम्मको लागि कर्फ्यु आदेश जारी गरेको हो । समितिले जारी गरेको आदेशमा पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटो नहर, उत्तरमा सोती चोर्निया पुल र दक्षिणमा हनुमान मन्दिरलाई चार किल्ला कायम गरेर शुक्रबार साँझ ५:३० बजेदेखि कर्फ्यु आदेश जारी भएको हो । 

सुझावित समाचार