पवित्राको हत्या आरोपमा श्रेष्ठदम्पती पक्राउ

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– १० पाथेकास्थित नाखामकी ३६ वर्षीया पवित्रा तामाङको हत्या आरोपमा सोही नगरपालिका– १२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई)  पक्राउ परेका छन् । गत मंसिर १९ गतेदेखि बेपत्ता बनेकी पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पुस ३ गते शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले पवित्राको हत्या आरोपमा श्रेष्ठदम्पतीलाई पक्राउ गरेको हो । 

श्रीमानसँग सम्बन्धविच्छेद गरेर माइती घर बसेकी पवित्रा मंसिर १९ गते राति आठ बजेसम्म टेलिभिजन हेरेर बसेकी जनाइएको छ । भोलिपल्ट बिहान ओछ्यानमा नदेखिएपछि पवित्राको खोजी सुरु गरिएको आफन्तले बताएका थिए । घरबाटै बेपत्ता बनेकी पवित्राको खोजीका लागि परिवारले मंसिर २३ गते प्रहरीलाई खबर गरेका थिए । आफन्त तथा प्रहरीले खोजी गर्दा नभेटिएकी पवित्रा १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र मृत फेला परेकी थिइन् ।  

शंकास्पद अवस्थामा मृत फेला परेपछि आफन्तले प्रहरीमा जाहेरी दिएसँगै अनुसन्धान गर्ने क्रममा आरोपित श्रेष्ठदम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका– ३ बोझेपोखरीबाट पुस ११ गते पक्राउ गरेर पुस १२ गते जिल्ला ल्याइएको जनाइएको छ । आरोपित श्रेष्ठदम्पतीलाई पक्राउ परेको आठ दिनपछि बुधबार साँझ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

आरोपित श्रेष्ठले पवित्राको गत मंसिर १९ गते राति नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । ‘आरोपित दीपकले आर्थिक लाभ तथा अनैतिक सम्बन्धका कारण पवित्राको हत्या गरेको पुष्टि भएको छ । दीपक आफैँले पनि घटनाका विषयमा स्वीकार गरिसकेका छन्,’ उनले भने, ‘आरोपित श्रेष्ठदम्पतीबाट सबुत प्रमाणहरूसमेत बरामद गरिएको छ । दोषी पत्ता लगाउनमा मृतकका परिवारको ठूलो सहयोग रह्यो । उहाँहरूका कारण वेलैमा दोषी पत्ता लगाएर कारबाहीको प्रक्रिया अगाडि बढाएका छौँ ।’

घटनापछि मंसिर ३० गते भागेर ललितपुरको महालक्ष्मी नगरपालिका पुगेको अवस्थामा पक्राउ परेका श्रेष्ठदम्पतीलाई प्रहरीले बरामद गरिएका सामानसहित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । मृतक पवित्राले कानमा लगाएको सुनको रिङ, नाकमा लगाएको  सुनकै फुली र पवित्राले प्रयोग गर्दै अएको मोबाइलसमेत प्रहरीले बरामद गरेर सार्वजनिक गरेको हो । 

आरोपित दीपकले पवित्राको हत्यामा प्रयोग गरेको हम्मर भने परीक्षणका लागि राष्ट्रिय विधि विधान प्रयोगशाला काठमाडौं पठाइएको प्रनाउ खड्काले जानकारी दिए । ‘कसुरदार दीपकले योजनाबद्ध तरिकाले पवित्राको हत्या गरेको देखिन्छ । मृतक पवित्राको शव भेटिएकै ठाउँनजिक रगताम्मे भएको एउटा हम्मर फेला परेको थियो । त्यो हम्मर दीपक आफैँले घरबाट लगेर गएको देखिन्छ,’ उनले भने, ‘मृतकको शव परीक्षण प्रतिवेदनमा समेत टाउकोमा हम्मर वा कुनै गह्रौँ वस्तु प्रहार गरेर हत्या गरिएको भन्ने देखिएको छ । घटनास्थलनजिकैबाट हम्मर बरामद गरिएकाले परीक्षणका लागि काठमाडौं पठाइएको हो ।’

चार छोरीकी आमा पवित्रा छोरा नजन्माएको भन्दै श्रीमानसँग खटपट भएपछि नौ महिनाअघि सम्बन्धविच्छेद गरेर माइती घर नाखाम फर्केकी जनाइएको छ । तीन छोरी श्रीमानसँग छाडेर कान्छी छोरी लिएर माइती घर बस्दै आएकी पवित्राको शव पत्करले छोपेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता बेनु कार्कीले जानकारी दिए । पवित्राको शव शंकास्पद अवस्थामा भेटिएकाले घटनाको विषयमा अनुसन्धान गर्दा श्रेष्ठदम्पती दोषी देखिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार पत्करले छोपेको अवस्थामा मृत भेटिएकी पवित्राको भित्रीबस्त्रसमेत थिएन । 

बाँस ढुवानीको काम गर्दै आएका आरोपित दीपकले तीनवटी श्रीमती विवाह गरेको स्थानीय बासिन्दाले बताएका छन् । सिर्जनालाई तेस्रो श्रीमतीको रूपमा गत असोजमा मात्रै दीपकले घर भित्र्याएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घरमा जेठी श्रीमतीसहित उनीपट्टिको एक छोरी रहेको जनाइएको छ । जेठी श्रीमती घरमा हुँदाहुँदै माइली ल्याए पनि उनी अहिले सम्पर्कमा नरहेको बुझिएको छ । 
 

सुझावित समाचार