भारतीय विदेशमन्त्री जयशंकरका सबै भेटवार्ता आज

बिहिबार, १९ पुष, २०८०
डिजिटल संस्करण

संयुक्त आयोगको बैठकदेखि पशुपतिनाथ दर्शनसम्मको कार्यतालिका

नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. सुव्रमण्यम जयशंकर बिहीबार आउँदै छन् । भारतीय वायुसेवाको विशेष विमानबाट आउन लागेका जयशंकर राष्ट्रपति, प्रधानमन्त्रीसँग शिष्टाचार वार्तादेखि कांग्रेस र एमालेका शीर्ष नेतासँग भेटवार्ता र संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र (संयुक्त आयोग)को बैठक तीन वर्षपछि बस्न लागेको हो । 

विदेशमन्त्रीका रूपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो । यही वर्ष संसदीय निर्वाचनमा जान लागेको भारतबाट चुनावअघिको यो नै सबैभन्दा उच्चस्तरीय प्रतिनिधिमण्डल हुनेछ । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले बुधबार दिउँसो संयुक्त आयोगको बैठकबारे औपचारिक जानकारी सार्वजनिक गरेका थिए । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल–भारत संयुक्त आयोगको बैठकमा दुई देशबीचका पारस्परिक सहकार्यका सबै पक्षमा समीक्षा हुने उल्लेख छ । संयुक्त आयोगको बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व विदेशमन्त्री जयशंकरले गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भारतको छिमेक प्रथम नीतिको प्राथमिकता प्राप्त साझेदार नेपाल भएको उल्लेख छ । जयशंकरको भ्रमणले दुई निकट छिमेकीबीच उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिएको उनले उल्लेख गरेका छन् ।

विदेशमन्त्री जयशंकरलाई परराष्ट्रसचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्ने कार्यक्रम छ । काठमाडौं ओर्लेपछि उनको पहिलो शिष्टाचार भेट बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग हुनेछ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मध्याह्न १२ बजे भेट गर्ने तय भएको छ । 

बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटपछि विदेशमन्त्री जयशंकरले नेपाली समकक्षी साउदसँग १ बजे भेटवार्ता गर्नेछन् । होटेल याक एन्ड यतीमा उनीहरूबीच १५ मिनेटको भेटवार्तापछि त्यहीँ नेपाल–भारत संयुक्त आयोगको बैठक बस्नेछ । बैठक सकिएपछि परराष्ट्र मन्त्रालयका तर्फबाट आयोजित दिवाभोजमा सहभागी भएर जयशंकरले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । साँझ परराष्ट्रमन्त्री साउदद्वारा होटेल सोल्टीमा आयोजित रात्रिभोजमा जयशंकर सहभागी हुनेछन् । 

जयशंकरले शुक्रबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयमा भारतीय सहयोगमा निर्मित केन्द्रीय पुस्तकालय उद्घाटन गरेपछि उनको नेपालमा कार्यक्रम सम्पन्न हुनेछ । दिउँसो १२:३० बजे उनी दिल्ली फर्किनेछन् । 

०४४ मा गठित परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नेपालमा बस्न लागेको चौथोपटक हो । बैठकको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री साउदले मंगलबार पूर्वपरराष्ट्रसचिव तथा भारतका लागि पूर्वराजदूतसँग सुझाव लिएका थिए । 

जयशंकरले ४ भदौ ०७७ मा काठमाडौंमा भएको पाँचौँ बैठक, त्यसपछि दिल्लीमा भएको छैटौँ बैठकमा भारतीय पक्षको नेतृत्व गरेका थिए । नेपालबाट पाँचौँ र छैटौँ बैठकको नेतृत्व तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए भने अब परराष्ट्रमन्त्री साउदले नेतृत्व गर्दै छन् ।

यस वर्ष पनि जलविद्युत् क्षेत्र, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, व्यापार, सिँचाइ तथा डुबान, कृषि, विकास सहयोग, स्वास्थ्य, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डामा छलफल हुनेछ भने नेपाल र भारतबीच प्रबुद्ध व्यक्ति समूह (इपिजी)को प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायत विषयले पनि प्रवेश पाउनेछ । 

सुस्ता र कालापानीबाहेक दुई देशको सीमांकन गर्न नौ वर्षअघि गठित नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी)को भविष्यबारे पनि बैठकमा छलफल हुनेछ । विशेषतः यसअघि शीर्ष नेताहरूको तहमा भएका द्विपक्षीय सहमति र सम्झौताको कार्यान्वयन, एकीकृत जाँचचौकी, काठमाडौं–रक्सौल रेलमार्ग, जलविद्युत् परियोजनाको निर्माणलगायत विषयमा छलफल गर्ने दुवै पक्षको तयारी छ ।

छलफलका लागि भारतीय प्राविधिक टोली मंगलबार नै काठमाडौं आइसकेको छ । आयोगको बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) चाँडै टुंग्याउने विगतका सहमतिको समीक्षा हुनेछ । यस्तै, नेपाल–भारत हवाई रुट, सीमा क्षेत्रमा हुने गरेका डुबान, पानीको निकासी अवरोध हुने गरी निर्माण भएका बाँधका विषयमा छलफल हुनेछ । 

नेपाल–भारत संयुक्त आयोग
पहिलो बैठक : १८ जेठ ०४४, काठमाडौं 
दोस्रो बैठक : ६ मंसिर ०४८, नयाँदिल्ली
तेस्रो बैठक : १९ असार ०७१, काठमाडौं
चौथो बैठक : १८ असोज ०७३, नयाँदिल्ली
पाँचौँ बैठक : ४ भदौ ०७६, काठमाडौं
छैटौँ बैठक : २ माघ ०७७, नयाँदिल्ली

See More On

सुझावित समाचार