१९ उद्योगको लाइन शुक्रबारसम्म जडान नभए आन्दोलन गर्ने चेतावनी

बुधबार, १८ पुष, २०८०
डिजिटल संस्करण

विद्युत् काटिएका उद्योगहरूको लाइन निसर्त जडान गर्न रुपन्देहीका उद्योगी-व्यवसायीले माग गरेका छन्।

रुपन्देहीमा रहेका १९ उद्योगीले थप उद्योगको लाइन नकाट्न र लाइन काटिएका उद्योगको लाइन शुक्रबारसम्म जडान गर्न माग गर्दै विद्युत् प्राधिकरण भैरहवा र बुटवलमा ज्ञापनपत्र बुझाएका छन्।

उनीहरूले काटिएका १९ वटा उद्योगको लाइन शुक्रबारसम्म जडान नभए आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएको सिदार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए।

उद्योगमा लाइन काटिँदा उद्योगीसँगै मजदुर बिचल्लीमा परेको बताउँदै शुक्रबारसम्म लाइन जडान नभए उद्योग बन्द गरेर ताला-चाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने उनले बताए।

विद्युत् प्राधिकरणले उद्योगहरूमाथि दबाब सिर्जना गर्न विद्युत् लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक करिडोरमा सञ्चालित उद्योगीहरू त्रसित भएको ज्ञापन-पत्रमा उल्लेख छ।

उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधीन रहेकै अवस्थामा लाइन काटिएको र अदालतको फैसला नआउञ्जेल उद्योगको विद्युत् तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए।

उद्योगी विनय गोयन्काले नेपाल विद्युत प्राधिकरणले आफूहरूमाथि अन्याय गरेको गुनासो गरे। ज्ञापन-पत्र बुझ्दै नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजयकुमार मिश्रले उद्योगीको माग माथिल्लो निकायमा पठाउने र माथिल्लो निकायबाट आएको निर्देशन उद्योगसमक्ष पुर्याउने बताए। त्यस्तै, नेपाल विद्युत् प्राधिकरण नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले सत्यतथ्य बुझेर प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाउने बताए।

सुझावित समाचार